विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ३ गते । रौतहटको गौरमा १९ वर्षअघि भएको हत्याकाण्डको छानबिन गर्न सर्वाेच्च अदालतले परमादेश दिएपछि राजविराजमा प्रदर्शन भएको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता कार्यकर्ताले सोमबार साँझ राजविराजमा प्रदर्शन गरेका हुन् ।
स्थानीय गजेन्द्र चोकमा टायर बालेर नाराबाजी गर्दै जसपा नेताहरुले आफ्ना अध्यक्ष उपेन्द्र यादवले भूमीसम्बन्धी अध्यादेशमा सहमति नजनाएपछि उहाँ माथि षड्यन्त्र भएको आरोप लगाए ।
जसपा सप्तरी अध्यक्ष केदार यादवले मधेशलाई मरुभूमी बनाउन भूमी अध्यादेश पारित नगर्दा आफ्ना अध्यक्षविरुद्ध षड्यन्त्र गरिएको दाबी गर्नुभयो ।
“आफ्ना अध्यक्षलाई फँसाएर मधेशी, आदिवासी जनजातीको राजनीतिलाई दमन गर्न यो षड्यन्त्र गरिएको छ, हामीले तत्काल साङ्केतिक विरोध गरेका हौं,’’ उहाँले भन्नुभयो ।
सर्वाेच्चले गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न परमादेश दिएको छ ।
पीडितहरुले दायर गरेको रिट उपर न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको हो ।
७ चैत २०६३ मा रौतहटको गौरमा रहेको राइस मिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार गरी कार्यक्रम गर्न लाग्दा दुवै पक्षबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।