रामकृष्ण बोहरा
बागलुङ, भदौ ३ गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको मालढुङ्गादेखि बलेवा खण्डमा भीषण पहिरोले सडक अवरुद्ध भएको साता बितिसकेको छ । अस्थायी रुपमा जोखिम मोल्दै केही गाडी पास भएका छन् । तर दुईतर्फ आवातजावतका लागि सडक खुलेको छैन । कहिले सहज रुपमा सडक खुल्छ भन्ने कसैले बताउन पनि सकेका छैनन् ।
यो सडकखण्ड बिडारी कन्स्ट्रक्सनले निर्माण गरिरहेको खण्ड हो । तर भीमकाय पहिरो खसेपछि कसले बनाउने, कसले खुलाउने भन्ने प्रश्न पनि उठेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाबाट सदरमुकाम काम विशेषले आउने नागरिक र मालसामान ढुवानीमा करिडोरको बागलुङ सडकखण्ड अवरुद्ध हुँदा सबैभन्दा समस्या भइरहेको छ ।
शनिबार जैमिनी नगरपालिकाका उपप्रमुख तीन घण्टासम्म पहिरोमा बसेर सडक अस्थायी रुपमा खुलाउने प्रयासमा लागे । करिडोरका इन्जिनियर र डोजर प्रयोग गरेर खुलाउने प्रयास भयो । तर जोखिम कायमै छ । बुटवलदेखि मालसामान लिएर आएका ठूला ट्रकहरु अलपत्र छन् । कोही फर्केपनि कतिपयले पहिरोमै आइपुग्दा फर्काउन नसकेर अलपत्र परेका हुन् ।
कालाखोलाको पहिरोमा झुण्डिएका ठूला ढुङ्गा थिए । करिडोरको ट्रयाक खोल्दा बम पड्काएर पहरा फोडिएको थियो । पहरामा निरन्तर ब्रेकर र डोजर लगाउने काम भइरहेको थियो । यसरी डोजर लगाएपछि हलचल भएको स्थानमा वर्षातको पानी पसेपछि पहिरो खसेको जानकारहरु बताउँछन् । करिडोरको निर्माणाधिन खण्ड मालढुङ्गा बलेवा खण्डमा जथाभावी ढुङ्गा उत्खनन् र सामाग्री निकासी समेत भइरहेको प्रत्यक्षदर्शीको भनाइ छ ।
ब्रेकर लगाएर पहरा फोडिरहेमा यस्ता दर्जनौं पहिरो खसेर सडक अवरुद्ध भइरहने बागलुङ नगरपालिका– १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । सडक जोखिम बढाउने गरी सामग्री उत्खनन् गर्न दिँदा समस्या आएको उहाँको बुझाइ छ । पहिरो खसेकै स्थानमा डोजरले खोतल्ने प्रवृत्तिले दुरगामी असर पर्ने अध्यक्ष खत्री बताउनुहुन्छ ।
जथाभावी मेसिनको प्रयोगले पहिरो खसेर करिडोरमा मात्र नभई मध्यपहाडी लोकमार्गमा पनि जोखिम बढेको छ । भित्तामा कोप्रो पारेर सडक खनिएकोले लोकमार्गकै कुश्मा बागलुङ खण्ड, काठेखोलाको बिहुँ, गलकोटको दुदिलाभाटी र मल्ममा पनि पहिरो खसेर पटक पटक सवारी अवरुद्ध भइरहेका छन् । एक सातामा तीनचार पटकसम्म सडक अवरुद्ध हुँदा सवारी साधनहरु रोकिएको गलकोट नगरपालिका–९ का अध्यक्ष तेजबहादुर थापाले बताउनुभयो ।
गलकोट नगरपालिका– १ को झाँक्रीस्थानमा लोकमार्ग जोखिमको बनेको धेरै समय भए पनि जोखिम न्यूनीकरणको काम भने हुन सकेको छैन । बागलुङ नगरपालिका– १० को एक्लेसालमा वर्षात लागेपछि गाडी गुड्न सकेका छैनन् । जोखिमयुक्त सडकलाई व्यवस्थित गराउन निर्माण कम्पनी र आयोजना कार्यालयमा आग्रह गरेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा बताउनुहुन्छ । ‘‘गौरवका सडकलाई दिगो बनाउन प्रदेश सरकार र सडक डिभिजनले ध्यान दिनुपर्छ’’ थापाले भन्नुभयो ।