मुसीकोट समाचारदाता
रुकुमपश्चिम, भदौ ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुमपश्चिमका छ वटै स्थानीय तहमा पालिकास्तरीय भेलामार्फत नेतृत्व चयन गरेको छ । प्रथम पालिका भेलामार्फत सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको रास्वपा रुकुमपश्चिमले जनाएको छ । जिल्ला सभापति मानबहादुर शाहीले साउन २६ बाट सुरु भएको पालिका भेला एक हप्ताभित्र जिल्लाका सबै पालिकामा सम्पन्न गरिएको बताउनुभयो । सभापति शाहीले बाँफीकोट गाउँपालिकामा बालकृष्ण गौतम, त्रिवेणी गाउँपालिकामा गणेशबहादुर केसी र सानीभेरी गाउँपालिकामा मदन ओलीको सभापतित्वमा पालिका समिति चयन भएको जानकारी दिनुभयो । त्यसै गरी चौरजहारी नगरपालिकामा प्रवीण बुढाथोकी, आठबिसकोट नगरपालिकामा सरोज केसी र मुसीकोट नगरपालिकामा पदमबहादुर ददेल सभापतिमा चयन हुनुभएको छ ।
सबै पालिकामा भेलामार्फत चयन भएको समिति नै पालिका अधिवेशन आयोजक समिति रहेको रास्वपाले जनाएको छ । नगरपालिकामा १३ र गाउँपालिकामा ११ सदस्यीय समिति बनाइएको छ । यी समितिले तीन महिनाभित्र पालिका अधिवेशन सम्पन्न गर्ने छन् । मङ्सिरमा हुने जिल्ला अधिवेशनअघि सबै पालिकामा नयाँ नेतृत्व चयन हुने रास्वपाका जिल्ला उपसभापति रिमप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार आगामी फागुनमा चितवनमा हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि जिल्लामा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।