• ३ भदौ २०८२, मङ्गलबार

चाडपर्व नजिकिएसँगै मादल बनाउन चटारो

blog

फाइल तस्बिर

शारदा समाचारदाता

शारदा (सल्यान), भदौ ३ गते । चाडपर्व नजिकिएसँगै सल्यानमा मादल बनाउने चटारो बढेको छ । विशेष गरेर तिज तथा तिहारका लागि मौलिक बाजा मादलको माग हुने गरेको छ । 

जिल्लाको शारदा नगरपालिका–१, श्रीनगरका मित्र नेपाली हिजोआज मादल बनाउन र मर्मत गर्नमा व्यस्त हुनुहुन्छ । करिब ३२ वर्ष अघिदेखि मादल बनाउने पेसामा लागेका उहाँले हाल आएर यो पेसालाई जीविकोपार्जनको मुख्य आधार बनाउनुभएको छ । “सुरुमा त रुची लागेर मादल बनाउन सिकेको हुँ,” व्यवसायी मित्रले भन्नुभयो, “अहिले त मुख्य पेसा नै यही भयो । मेरो परिवार यही पेसामा निर्भर छ ।” मित्रसँगै उहाँका भाइ गोपाल नेपाली मादल बनाउने काममा संलग्न हुनुहुन्छ । सल्यानी मादल उद्योग दर्ता गरेर व्यावसायिक रूपमा लागेको मित्रको भनाइ छ । 

पछिल्ला केही वर्षयता साउन्ड सिस्टमका कारण विभिन्न कार्यक्रम र सांस्कृतिक अवसरमा मादल कम प्रयोग हुन्थ्यो । व्यवसायीका अनुसार अघिल्ला वर्षमा स्पिकरको चलन बढ्दा मादलको बजार सुस्ताए पनि पछिल्लो समय फेरि मादलको मागमा वृद्धि भएको छ । “तिज र तिहारका बेला मादलको माग धेरै हुने गरेको छ,” व्यवसायी मित्रले भन्नुभयो । मादल बनाउन व्यवसायीले खमारी र उत्तिसको काठ प्रयोग गर्ने गरेको बताउनुहुन्छ । साथै बाख्रा तथा राँगाको छालासमेत काठमाडौँबाट किनेर ल्याउने गर्नुभएको छ । तयार गरेको मादल आकार र गुणस्तर अनुसार फरक फरक मूल्यमा बिक्री हुने गर्छ । सानो मादल एक हजार पाँच सय रुपियाँदेखि सोरठी मादल १५ हजार रुपियाँसम्ममा बिव्रmी हुने गरेको व्यवसायीको भनाइ छ । व्यवसायी मित्र र गोपाल मिलेर वर्षमा एक सयभन्दा बढी नयाँ मादल बनाउने गर्नुभएको छ भने त्यति नै सङ्ख्यामा पुराना मादलको मर्मत पनि गर्नुहुन्छ । सबै खर्च कटाएर बचत भएको रकमले घरपरिवार चलाउने गरेको उहाँहरूले बताउनुभयो । पछिल्लो समय मादल बनाउने व्यक्ति निकै कम सङ्ख्यामा देख्न सकिन्छ । 

कतिपय समुदायको मादल बनाउने पेसा लोप हुने अवस्थामा पुगिसकेको छ । मादल बनाउन प्रयोग हुने सामग्री व्यवस्थापनमा सरकारी तवरबाट सहयोगको अपेक्षा यस पेसामा संलग्नहरूको छ । साथै पछिल्लो पुस्ताले मादल बनाउन छाड्दै जाँदा पुराना पुस्ताको सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्ने र यसले गर्दा मादल बनाउने पेसा हराउँदै जान थालेको छ ।