राउटेहरू लोपोन्मुख आदिवासी हुन् । खस आर्य समुदायका पिछडिएको यो जातिले कर्णाली प्रदेशका पहाडी जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको छ । उनीहरू खस भाषा बोल्छन्, हिन्दु धर्म मान्छन् । नेपाली भाषा पनि राम्रोसँग बोल्न र बुझ्न सक्छन् । स्थायी बसोबास र खेतीपाती नगर्ने राउटे बाँदर तथा अन्य जङ्गली जनावरको सिकार गर्ने र कन्दमूल, फलफूल, अन्नपात र अन्य वनस्पति खाएर जीविका चलाउने गर्छन् । उनीहरू पानी नजिक भएको पहाडी जङ्गल र समथर जमिनमा बस्न रुचाउँछन् । उनीहरू मुख्य रूपले सल्यान, सुर्खेत, जाजरकोट र दैलेखका जङ्गली क्षेत्रमा विचरण गर्छन् । फिरन्ते जीवनशैली भएका राउटे विभिन्न जङ्गलमा बसाइँ सर्दै बस्ने गर्छन् । उनीहरू परम्परागत काठका कोसी, मदुस, आरीलगायतका सामग्री बनाई अन्नपातसँग साटेर जीविका गर्छन् । दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको सिकार गर्नु, माग्नका लागि नजिकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो । कर वा तिरो तिरेर, खेतीपाती गरेर, गाउँमा बस्नु र अर्काको सित्तैमा खानुलाई अपराध सम्झन्छन् । बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको पानी मात्र खान्छन् । सम्पत्तिका रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र सिकार गर्ने केही हतियार मात्र हुन्छ । बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यो ठाउँ छाड्नुपर्ने राउटेको चलन छ । यसले गर्दा उनीहरू एकै ठाउँ बस्न सक्दैनन् । सदस्य मर्नेबित्तिकै त्यस ठाउँलाई अशुभ ठानेर उनीहरू नयाँ ठाउँको खोजीमा हिँड्छन् । त्यस्तै बसेको ठाउँमा असुरक्षा महसुस भयो भने पनि उनीहरू बसाइँ सर्छन् ।
राउटेहरूको हक, अधिकारको रक्षा तथा सुरक्षा प्रदान गर्न सरकारीस्तरमा विभिन्न प्रयास हुँदै आएको छ । अहिले कर्णाली प्रदेश सरकारले ‘राउटे कोरिडोर’ बनाउने योजना बनाएको छ । बर्सौंदेखि राउटे बस्दै आएका मुख्य स्थान पहिचान गरेर उनीहरूलाई अस्थायी रूपमै आवास, शिक्षा, स्वास्थ्य, सुरक्षालगायतको सेवा प्रदान गर्न ‘राउटे कोरिडोर’ बनाउन लागिएको हो । अहिले राउटे समुदाय सुर्खेतको लेकबेँसी नगरपालिका–१० को झुप्राखोलामा बस्दै आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा राउटे हिँडडुल गर्ने क्षेत्रलाई राउटे कोरिडोर बनाउने तयारी गरेको छ । योजना अनुसार अछामको कालेकाँडा, दैलेख, जाजरकोट, सुर्खेत र सल्यानका नदी तथा खोला किनारमा बढी बस्ने स्थानलाई राउटे कोरिडोर बनाइने छ । यी स्थानमा राउटे पालो पालो अस्थायी रूपमा बस्न आउने भएकाले प्रदेश सरकारले अध्ययन गरेर यस वर्षको बजेट तथा कार्यक्रममा यो योजना समावेश गरेको छ । पछिल्ला दशकमा राउटे समुदाय यी जिल्लामा बढी हिँडडुल र बस्ने गरेका छन् । उनीहरूको सुरक्षा र जीवनयापनलाई सहज बनाउने उद्देश्यले राउटे कोरिडोर निर्माण गर्ने अवधारणा अगाडि सारिएको हो । प्रदेश सरकारले अहिले राउटे समुदाय बसोबास गरिरहेको स्थानको अध्ययन र राउटे समुदायको प्रोफाइल तयार पारेको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा उनीहरूको जीवनयापनमा सहजता आए पनि यसको दुरुपयोग हुन थालेको छ । यसलाई ध्यानमा राखी राउटे समुदायलाई कोरिडोर बनाएर उनीहरूले बनाएका काठका सामग्रीको बजारीकरण गर्ने, त्यस क्षेत्रमा रहेका रुख हटिसकेकाले वृक्षरोपण गर्ने, कन्दमूललगायतका परम्परागत खानेकुरालाई प्राथमिकता दिने र सुरक्षा दिन सम्बन्धित मन्त्रालयहरूबिच समन्वयको काम हुँदै छ । कोरिडोरले उनीहरू जहाँ जहाँ बस्छन् त्यहाँ सुरक्षाका लागि अस्थायी बसोबासको पनि व्यवस्था मिलाउन सकिने अवस्था बन्ने छ । यस काममा सम्बन्धित जिल्लाका स्थानीय पालिकाले पनि सहजीकरण गर्नु पर्छ । राउटे कोरिडोर बनेमा उनीहरूका बालबालिकालाई पढ्नका लागि नजिक विद्यालय पर्ने, स्वास्थ्य उपचारका लागि स्वास्थ्य केन्द्र पनि पायक पर्ने साथै उनीहरूको दैनिकीलाई सहयोग पुग्ने विश्वास गरिएको छ । सामाजिक विकास मन्त्रालयले अहिले पहिलो चरणमा राउटे समुदायका बारेमा भए गरेका लिखित दस्ताबेजको अध्ययन तथा सङ्कलनको काम थालेको छ । यस्तै राउटे समुदायको जनसङ्ख्या १३५ रहेकाले उनीहरूको प्रोफाइल तयार गरिएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले दिएको निर्णय तथा निर्देशन कार्यान्वयनलाई अगाडि बढाई राउटे समुदायको मानव अधिकार संरक्षण गर्न सकिने र समुदायमाथि भएको विकृतिलाई हटाउन राउटे कोरिडोर प्रस्ताव गरिएको हो । कोरिडोरले समुदायको सुरक्षा साथै पर्यटनको पनि विकास हुने र अध्ययन अनुसन्धानमा पनि सघाउने अपेक्षा गरिएको छ ।