काठमाडौँ , भदौ ३ गते । गायक युवराज चौलागाईंले आफ्नो जन्मदिनका अवसरमा वृक्षरोपण गर्नुभएको छ । पवित्र पाशुपत् क्षेत्रको भण्डरखालमा उहाँले वृक्षरोपण गर्दै जन्मदिन मनाउनुभयो । उहाँले अघिल्लो वर्षदेखि नै जन्मदिनका अवसरमा वृक्षरोपण गर्ने र आफूले रोपेको रुखको हेरचाह गर्दै आउनुभएको छ ।
“मानिसलाई बाँच्नका लागि प्रकृति जरुरी छ । अहिलेको जलवायु परिवर्तनले प्रकृतिमाथि असर परिरहँदा मानव जीवनमाथि नै सङ्कट आइरहेका बेला रुखको सङ्ख्या बढाउनुपर्ने वातावरणविद्ले बताइरहनुभएको छ । त्यसैले कम्तीमा जन्मदिनकै अवसर पारेर भए पनि वृक्षरोपण गरेको छु,” उहाँले भन्नुभयो । गायक चौलागाईंले आफू प्रकृतिप्रेमी भएकाले पनि जन्मदिनमा केक काट्नेभन्दा वृक्षरोपण गर्न रुचाउने बताउनुभयो । वृक्षरोपणका क्रममा चलचित्र प्राविधिक सङ्घ नेफ्टाका अध्यक्ष पुष्कर लामा, अधिवक्ता/पत्रकार जगन्नाथ दुलालसहित केही कलाकार सहभागी रहेका थिए ।