नारायणगढ समाचारदाता
नारायणगढ, भदौ ३ गते । पठन संस्कृतिका १६ औँ शृङ्खलामा कविवर गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन गरिएको छ । यात्राको सुवास कविता, काव्य, बालसाहित्य, गजल र समालोचना विधामा विनोदीको २१ औँ कृति हो । उहाँका माहाकाव्य र खण्डकाव्य पनि प्रकाशनमा आइसकेका छन् ।
२०२१ सालदेखि निरन्तर सिर्जनामा लाग्नुभएका कवि विनोदीका हजारौँ फुटकर कविता, गजल, गीत, हाइकु, बालकविता, बालगीत, निबन्ध पनि प्रकाशनमा रहेका छन् । यात्राको सुवास भारत भ्रमणका सम्बन्धमा रचिएको कृति हो । यसको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी र कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले संयुक्त रूपमा विमोचन गर्नुभएको हो । सो अवसरमा बोल्दै कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले कवि विनोदी युगकै चेतनाको दियो भएको बताउनुभयो । “विनोदी गुरु यो युगकै चेतनाको दियो हुनुहुन्छ । उहाँले देखाएको गोरेटोमै अहिलेको काव्य अझै भन्नुपर्दा छन्दीय कविता अगाडि बढेका छन्,” उहाँले भन्नुभयो । भारत भ्रमणका सम्बन्धमा छन्दीय रूपमा लेखिएको यात्राको सुवास कृति आफैँमा अब्बल रहेको पनि उहाँको धारणा छ ।
गैँडाकोट र यस आसपासका क्षेत्रमा पछिल्लो समय बढ्दै गएको पठन संस्कृतिको उहाँले खुलेरै प्रशंसा गर्नुभयो । “पठन संंस्कृति यस्तो अभियान हो, जसले नागरिकको चेतनाको स्तर बढाउँछ,” उहाँले भन्नुभयो । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले गैँडाकोटमा सुरु भएको पठन संस्कृतिलाई नगरपालिकाको सधैँ सहयोग र सहकार्य रहने बताउनुभयो । कविवर विनोदी हाल अर्बुद रोगका कारण बिरामी हुनुभएकाले उहाँको स्वास्थ्यलाभको कामना पनि गर्नुभयो ।
कविवर विनोदीले आफ्ना रचनालाई पाठकले मन पराइदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । सो कार्यव्रmममा धुव्र पौडेलले डा. जीवन क्षेत्रीको नुनतेल, सुदीप चापागाईंले हरिवंश रायवचनको मधुशाला, उदय अधिकारीले सुतपुत्रलगायतका कृतिको समीक्षा गर्नुभएको थियो । यसै गरी कवि विष्णु पन्थी, विद्यानिर्दोश पहाडी, मुना धनन्जय, योगेन्द्रप्रसाद ढुङ्गाना, पवन भुजेल, प्रेम कँडेल, एकदेव रिमाललगायतले आआफ्नो रचना वाचन गर्नुभएको थियो ।