चन्द्रपुर समाचारदाता
चन्द्रपुर (रौतहट), भदौ १ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएको छ । स्थानीय सरकारले आगामी आवको बजेट असार १० भित्र ल्याएर असार मसान्तसम्ममा पास गरिसक्नुपर्ने कानुनी प्रावधान रहे पनि जनप्रतिनिधिबिच कुरा नमिल्दा फतुवा विजयपुर नगरपालिकाले बजेट ल्याउन सकेको थिएन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोली पालिकामा आएर समन्वय गरिदिएपछि शुक्रबार नगरपालिकाले चालु आवका लागि बजेट ल्याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले जानकारी दिनुभयो ।
नवौँ नगर सभाले ५६ करोड ३२ लाख ९५ हजार १५१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । आव २०८२/८३ का लागि नगरपालिकाले सार्वजनिक गरेको बजेटमा पुँजीगततर्फ २० करोड ६८ लाख ७१ हजार रुपियाँ र चालु खर्चतर्फ ३५ करोड ६४ लाख २४ हजार १५१ रुपियाँ रहेको फतुवा विजयपुर नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले जानकारी दिनुभयो । प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमा मुख्य रूपमा कृषि, विपत् व्यवस्थापन, भूमिहीन सुकुमवासीको समस्या समाधान प्राथमिकताका साथ राखिएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो ।
सामूहिक तथा सहकारी खेतीलाई प्रोत्साहन गर्ने, पालिकाभित्र बाँकी रहेका तीन वटा वडामा आधारभूत स्वास्थ्य चौकी सञ्चालन, वडा कार्यालयको भवन नभएको वडामा क्रमिक रूपमा वडा भवन निर्माण, पालिकाको वडा नं. ९, १० र ११ का ८४ जना सुकुमवासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनेलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ राखिएको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले बताउनुभयो । हाम्रो बालबालिका हाम्रो भविष्य नाराका साथ पालिकालाई बालमैत्री नगर घोषणा, ज्येष्ठ नागरिकको पहिचान, सम्मान र व्यवस्थापनका लागि वृद्धाश्रम निर्माणलगायतका कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख खातुनले बताउनुभयो । नगरपालिकाभित्र रहेका ११ वटै वडालाई ७० लाखको सिलिङ दिइएको कार्यवाहक नगरप्रमुख खातुनले जानकारी दिनुभयो ।