विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ १ गते । सप्तरीको खडक नगरपालिकामा दुईदिनमा सर्पदंशबाट दुई वृद्ध महिलाको मृत्यु भएको छ । नगरपालिका– ३ स्थित गरुराहा टोल घर भएकी ८५ वर्षीया सोनियाँ देवी मोचीको शनिबार सर्पदंशबाट मृत्यु भएको हो ।
मोचि आफ्नै घरमा बसीरहेको अवस्थामा गोहमन सर्पले टोकी घाइते भएर उपचारको लागि फुलकुमारी महतो मेमोरीयल अस्पताल कर्जन्हा सिरहा लगिएकोमा त्यहाँ उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
खडकमा योसँगै सर्पदंशबाट दुई वृद्ध महिलाको मृत्यु भएको हो । यस अघि शुक्रबार साँझ करिब ६ बजे आफ्नै खेतमा पानी पठाउने क्रममा सर्पले टोकेर सोही नगरपालिका– ९ की ७० वर्षीया भुलुरवती साहको मृत्यु भएको थियो ।