ललितपुर, साउन ३१ गते। ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको छ।
महानगरले २२ वटा संस्थागतका ७८ जना र ६ वटा सामुदायिक विद्यालय ८ जना गरी ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको हो। सामुदायिक विद्यालय तर्फ ३ दशमलव ९५ भन्दा माथि ल्याउने र संस्थागत तर्फ ४ जिपिए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान सहित पुरस्कृत गरिएको हो।
महानगर प्रमुख चिरीबाबु महर्जनले एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी संस्थाले महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताउनुभयो।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यालय र विद्यार्थीलाई बधाई दिँदै जीवनका अझैं ठुलाठुला परीक्षा पास गर्न तयार रहन सुझाव दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ विद्यार्थी, विद्यालय र अभिभावकको मिहिनेतका कारण सफलता प्राप्त भएको बताउनुभयो। सफल विद्यार्थीलाई शुभकामना दिँदै जीवनमा आइपर्न सक्ने सबै खालका चुनौतीसँग लड्न सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो।
महानगरका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जनले शैक्षिक गुणस्तर सुधारका लागि कोरोना लगत्तै महानगरले सुरु गरेको सम्मान र पुरस्कारले विद्यार्थी र विद्यालयलाई प्रेरित गरेको बताउनुभयो।