काठमाडौँ, साउन ३१ गते। नेपालको फरेन्सिक चिकित्सा क्षेत्रमा क्रियाशील संस्था ‘मेडिको–लिगल सोसाइटी अफ नेपाल’ (मेलिसन) ले आगामी आइतबार र सोमबार (भदौ १ र २ गते) काठमाडौँमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
सम्मेलनको विषयवस्तु ‘न्याय र सार्वजनिक स्वास्थ्यका लागि फरेन्सिक चिकित्सा प्रणालीको सुदृढीकरण’ रहने उपाध्यक्ष डा. सिर्जना कुँवरले जानकारी दिनुभयो।
दुई दिने कार्यक्रममा देशभरका फरेन्सिक चिकित्सकसँगै भारत र श्रीलङ्काका विज्ञको पनि सहभागिता रहने छ। सम्मेलनको उद्घाटन स्वास्थ्य सचिव डा. विकास देवकोटाले गर्ने छन् भने विशेष अतिथि नेपाल प्रहरीका आइजिपी दीपक थापा रहने छन्।
कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रपछि वैज्ञानिक तथा शैक्षिक प्रस्तुति हुने छन्। सहभागी विदेशी विज्ञले आफ्ना मुलुकका फरेन्सिक प्रणाली र अनुभव प्रस्तुत गर्ने डा. कुँवरले बताउनुभयो।
दोस्रो दिन अन्तर्राष्ट्रिय रेडक्रस समितिले ‘डिजास्टरमा मृत शरीर व्यवस्थापन’ विषयमा छलफल गर्ने छ। यसमा बेवारिसे र बेपत्ता व्यक्तिको पहिचान, फर्म भर्ने प्रक्रिया र फरेन्सिक प्रमाणको व्यवस्थापनबारे प्रशिक्षण दिइने छ।
मेलिसनका करिब ६० सदस्यसहित करिब १०० जनाको सहभागिता रहने सम्मेलनमा न्यायिक प्रमाण सुदृढीकरण, स्वास्थ्य प्रणालीमा फरेन्सिकको भूमिका र आगामी सुधारका उपायबारे छलफल हुने आयोजकले जनाएको छ।