सिराज खान
नेपालगन्ज, साउन ३१ गते । नेपालगन्ज–२३ स्थित हजरत सामुदायिक वनमा शनिबार वृक्षारोपण कार्यक्रम आयोजना गरेर एकै दिन दुई हजार बिरुवा रोपिएको छ । क्लिन अप नेपालको आयोजना र स्ट्यान्डर्ड चार्टर बैँकको सहयोगमा सो सामुदायिक वनमा ती बिरुवा रोपिएको हरित अभियन्ता हेमन्तराज काफ्लेले बताउनुभयो ।
नेपाल सरकारका पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सो बृहत् वृक्षारोपणको शुभारम्भ गर्नुभयो । उहाँले रुख बिरुवाको अभावमा नेपालगन्जको वातावरणमा असर परेको जनाउँदै बढीभन्दा बढी वृक्षारोपणमा जोड दिनुभयो ।
कार्यक्रमको उद्देश्य संरक्षण र वातावरणीय सचेतना जगाउनु मात्र नभई समुदायलाई समृद्ध वनक्षेत्रको महत्त्वबारे बुझाउनु पनि रहेको क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्जलाई ग्रिन सिटी बनाउने अभियान चलाइने बताउनुभयो । सो अवसरमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. विनोद ढकाल, नेपाली कांग्रेस जिल्ला सचिव सुधान्सु कोइराला, स्ट्यान्डर्ड चार्टर बैँक नेपाल लिमिटेडको नेपालगन्ज शाखा प्रमुख हर्मेस सोनी, प्याब्सन बाकेका अध्यक्ष विकास बज्राचार्य, प्याव्सन नगर अध्यक्ष मानबहादुर थापा, नेपालगन्ज मोडेल एकेडेमीका प्रीन्सिपल विज्ञान शाह, युनाइटेड विद्यालयका प्रधानाध्यापक जिबराज भन्डारी तथा विद्यालयका विद्यार्थी वडा नम्बर २३ का वडाध्यक्ष, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, लायन्स डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, लायन्स सेक्रेटरी नरेन्द्र श्रेष्ठ लगायतले वृक्षारोपण गर्नुभयो । सो अवसरमा महुवा, बर्रो, अमला , शिरीष, लिची, अम्बा र अर्जुन लगायतका बिरुवा रोपिएको थियोे ।