बबई समाचारदाता
बबई (बर्दिया), साउन ३१ गते । चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षण र प्रजननको उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका ९१ एकसिङे गैँडामध्ये अहिले ३८ वटा मात्र बाँकी छन् । बाँकी ५३ गैँडा निकुञ्जभित्र नभेटिँदा लामो समयको संरक्षणको प्रभावकारितामा प्रश्न उठेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार सन् १९८६ देखि २०१७ सम्म विभिन्न चरणमा गैँडालाई बर्दियामा ल्याइएको थियो । पहिलो चरणमा सन् १९८६ फेब्रुअरीमा चार र डिसेम्बरमा नौ गरी १३ गैँडा कर्णाली नदीको तटीय क्षेत्रमा छाडिएका थिए । दोस्रो चरणमा सन् १९९१ जनवरीमा २० र फेब्रुअरीमा पाँच गरी २५ गैँडा ल्याइयो । त्यसपछि सन् १९९९ मा चार भाले गैँडा बबई नदीको तटीय क्षेत्रमा स्थानान्तरण गरियो ।
सन् २००० मार्चमा १० र नोभेम्बरमा ६ गरी १६ गैँडा, २००१ मा तीन भाले र दुई पोथी गरी पाँच गैँडा, २००२ मा पाँच भाले र पाँच पोथी गरी १० गैँडा, २००३ मा तीन भाले र सात पोथी गरी १० गैँडा बबई क्षेत्रमा राखियो । पछिल्ला वर्षहरूमा सन् २०१६ मा तीन भाले र दुई पोथी गरी पाँच र अन्तिम पटक २०१७ मा एक भाले र तीन पोथी गरी चार गैँडा ल्याइएका थिए ।
३१ वर्षको अवधिमा बबई नदीको तटीय क्षेत्रमा मात्रै ३५ भाले र ४३ पोथी गरी ७८ गैँडा र कर्णाली नदीको तटीय क्षेत्रमा आठ भाले र पाँच पोथी गरी १३ गैँडा राखिएको अभिलेख छ । २०७७ सालमा गरिएको पछिल्लो गणनामा भने बर्दियामा जम्मा ३८ गैँडा मात्र भेटिए । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सरोजमणि पौडेलले भन्नुभयो, “चितवनबाट ल्याइएका ९१ मध्ये अहिले ३८ मात्र छन् । लामो समयसम्म सङ्ख्या उल्लेखनीय रूपमा बढ्न सकेको छैन ।”
प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार बर्दिया अन्तर्राष्ट्रिय जैविक मार्ग खाता–कोरिडोरसँग जोडिएको हुँदा कतिपय गैँडा भारततर्फ गएका हुन सक्छन् । उहाँले सीमापारको आवतजावत रोकथाम चुनौतीपूर्ण भएको बताउनुभयो ।
त्यसै गरी पर्यावरण मञ्च बर्दियाका अध्यक्ष कृष्ण भट्टराईले निकुञ्जभित्र पर्याप्त पानीका स्रोत नहुँदा गैँडा वासस्थान परिवर्तन गर्न बाध्य भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पानीको स्थायी स्रोतको अभावमा गैँडा सहज वासस्थान खोज्दै भारततर्फ गएका हुन सक्छन् ।”
विशेषज्ञका अनुसार बर्दियामा गैँडाको वासस्थान सुधार, पानीको व्यवस्थापन, सीमापार आवतजावत नियन्त्रण र दिगो संरक्षण रणनीति तत्काल आवश्यक छ । गैँडाको घट्दो सङ्ख्या केवल जैविक विविधता मात्र नभई पर्यटन प्रवर्धनमा पनि नकारात्मक असर पार्ने चेतावनी सरोकारवालाको छ ।