जीवन एउटा यात्रा हो, जहाँ सुख र दुःखका अनेकौँ घुम्तीहरू आइरहन्छन् । कोही यी घुम्तीहरूमा अलमलिएर रोइरहन्छन् भने कोही ती सबैलाई पार गर्दै मुस्कुराइरहन्छन् । यस्तै अनेकौँ आरोह–अवरोहको बिचबाट उदाएका एक अद्वितीय व्यक्तित्व हुन्, श्रीकृष्ण । उनको जीवन केवल एउटा कथा मात्र नभएर हरेक व्यक्तिलाई प्रेरणा दिने एउटा खुला किताब हो ।
जन्म लिनुअघि नै उनको जीवनमा शत्रुताको कालो बादल मडारिएको थियो । भाद्रपद महिनामा, यस्तै बादल मडारिएको एउटा अँध्यारो रात, उनको जन्म एउटा अँध्यारो कालकोठरीमा भयो । सम्भवतः अँध्यारोसँग द्वेष राख्नु पर्दैन, एउटा दियो बाले पुग्छ भन्न उनी आएका थिए । अँध्यारो चाहे हजारौँ वर्षकै किन नहोस्, त्यसलाई सत्तोसराप गर्दा त्यो उज्यालोमा परिणत हुँदैन । दियो बाल्नुपर्छ, उज्यालो हुन्छ । कृष्ण दियो झैँ बल्न आए आफ्ना दिव्यकर्म मार्फत् ।
जन्मिएको रात नै अनेकौँ चुनौतीको सामना गर्दै उनका पिताले उनलाई आफ्नी आमाबाट टाढा ग्वालाहरूको गाउँमा पु¥याए । तर विपत्तिले त्यहाँ पनि उनलाई पछ्याउन छोडेन । तर आश्चर्य ! यति हुँदाहुँदै पनि उनको अनुहारबाट मुस्कान कहिल्यै हटेन । हरेक चुनौतीलाई उनले अवसरको रूपमा देखे । सायद उनको जीवनले हामीलाई अवसाद होइन, अवसरको ढोकातिर हेर्नु पर्छ भनी सिकाउँदो हो ।
उनको जीवनमा प्रेम, स्नेह, वात्सल्य र आत्मीयताको कमी भएन । तर नियतिले उनलाई घरिघरि युद्धको मैदानमा उभ्यायो । कहिले पुतना बनेर, कहिले तृणावर्त त कहिले अघासुर, धेनुकासुर, प्रलम्ब आदि बनेर । उनका लागि युद्ध कालिया नाग बनेर सधैँ उपस्थित थियो, तर उनले कालियाको फणामा पनि शान्तिको मुरली बजाइरहे । मुस्कान, नृत्य र सङ्गीत कृष्णको व्यक्तित्वका अभिन्न अङ्ग थिए । उनी आफैँ आनन्दको स्रोत थिए, आफैँ आनन्दधाम । उनको जीवनले हामीलाई भन्छ,
‘बाहिरी सुखको पछि नदौड, आनन्दको स्रोत आफैँ बन र खुसी आफैँभित्र खोज ।’ वृन्दावनका उलनका लीलाले दिने प्रेरणा पनि यही हो–यदि सकिन्छ भने आफ्नो परिवेशलाई नै आनन्दमय बनाउन प्रयत्न गर ।
हामी प्रायः मनोरञ्जनको खोजीमा भौँतारिन्छौँ, जसले क्षणिक आनन्द दिन्छ र कहिलेकाहीँ त दुःखको कारण पनि बन्न सक्छ । तर, उत्सव भनेको क्षणिक कुरा होइन, यो नित्यको कुरा हो । उत्सव एउटा घटना नभएर एउटा प्रक्रिया हो, जसले हामीलाई हाम्रो जीवनको मूल स्रोत (उत्सव)सँग जोड्छ । श्रीकृष्णको जीवनले हामीलाई यही कुरामा प्रेरित गर्छ–‘जीवनलाई मनोरञ्जन होइन, उत्सव बनाऊ । आफूलाई आफ्नो जीवनको स्रोतसँग जोड्ने प्रयत्न गर ।’ शोक र मोहबाट मुक्त हुन भन्दै यही कुरालाई गीतामा शरीरको नश्वरता र शरीरको नित्यताको भेद बुझ्न उनी अर्जुनलाई प्रेरित गर्छन् ।
कृष्ण एक राजपुत्र थिए तर उनले आफ्नो बाल्यकाल ग्वालाहरूका बिचमा बिताए । आफ्नो परिस्थितिलाई दोष दिएर हातमाथि हात राखेर रोएर बसेनन् । बरु उनी कर्मशील बने, उद्योगी बने । यसैले त उनी तत्कालीन राष्ट्रका योजक बने । यसरी उनी सदैव प्रेरणाको स्रोत बनिरहे, “आफ्नो वर्तमान स्थिति देखेर चिन्तित नबन । रोएर नबस, अवसर अवश्य मिल्नेछ ।” आजका शब्दावलीमा उनको जीवनले भन्दो हो–‘भिक्टिम’को भाषा नरोज । आफ्नो जीवनको नेतृत्व आफैँ लेऊ ।
उनको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ । भगवद्गीतामा उनले भनेका छन्, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।” यो कुरा उनले मोहग्रस्त अर्जुनलाई मात्र नभएर जीवनको युद्धमा लडिरहेका हामी सबैलाई भनेका हुन्–‘कर्मशील बन । आफ्नो भाषामा उत्साह र उमङ्ग भर । आफूलाई चिन र त्यही चिनारीको भरमा आफ्नो बाटो रोज ।’
वास्तवमा श्रीकृष्णको जीवन केवल एउटा सुन्दर कथा मात्र होइन, यो हरेक प्राणीका लागि जीवनको गहिरो दर्शन हो । उनले भनेका छन्, “ऐश्वर्ययुक्त, कान्तियुक्त, शक्तियुक्त जति पनि कुरा देख्छौ, ती सबै मेरै विभूति हुन् ।” जहाँ पनि सुन्दरता, शक्ति र तेजको अनुभूति हुन्छ, त्यहाँ उनको अमृतको धारा प्रवाहित भएको हुन्छ, उनको सङ्गीतको स्वर गुञ्जिएको हुन्छ र उनको हृदयको धड्कन स्पन्दित हुन्छ । त्यसैले जीवनलाई सुन्दर बनाउनका लागि कृष्ण नीतिको बाटोमा हिँड्नु नै सबैभन्दा उत्तम विकल्प हो ।
भगवान् श्रीकृष्णले भगवद्गीतामा आफ्नो अवतारको प्रयोजन उल्लेख गर्दै भनेका छन्– ‘धर्म संस्थापनार्थाय’ अर्थात् धर्म स्थापनाको लागि म अवतरित हुन्छु । यो महावाणीले कुनै पनि साधारण व्यक्तिको जीवनमा गहिरो अर्थ राख्छ । धर्मको स्थापना गर्नु भनेको विशाल युद्ध जित्नु वा ठुलो क्रान्ति गर्नु मात्र होइन, बरु यो त आफ्नो दैनिक जीवनका हरेक मोडमा सत्य, न्याय र नैतिकतालाई आत्मसात् गर्नु हो । जब हामी सत्यको बाटोमा हिँड्छौँ, इमान्दारीलाई आफ्नो कवच बनाउँछौँ र सबै प्राणीप्रति करुणाभाव राख्छौँ, तब हामी आफ्नो सानो संसारमा धर्मको ज्योति बाल्छौँ । कर्तव्यलाई निष्ठापूर्वक पालन गर्ने, अन्यायका विरुद्ध उभिने र सद्भाव फैलाउने हरेक प्रयास नै धर्मको स्थापना हो । यसरी हामी आफ्नो आचरण, विचार र कर्मद्वारा भगवान्को यस महान् उद्घोषलाई सार्थक बनाउँछौँ किनकि धर्मको वास्तविक स्थापना बाहिरी दुनियाँमा होइन हरेक व्यक्तिको हृदयभित्र हुन्छ । व्यक्ति धर्मनिष्ठ भए परिवेश पनि धर्मयुक्त बन्छ ।
यी सुन्दर र प्रेरणादायी विचारहरूले हामीलाई के सन्देश दिन्छन् भने श्रीकृष्णको जीवन एक महाकाव्य हो, जसले हरेक मानिसलाई सुख र दुःखको चक्रमा कसरी मुस्कुराउँदै अगाडि बढ्ने भन्ने शिक्षा दिन्छ । उनको जीवन केवल एउटा ऐतिहासिक पात्रको कथा मात्र नभएर हरेक युगमा हरेक व्यक्तिको लागि एउटा सजीव प्रेरणाको स्रोत हो । उनको जीवनले हामीलाई आफ्नो परिस्थितिमा अल्झिएर ‘भिक्टिम’ बन्नुको सट्टा आफ्नो जीवनको नायक आफैं बन्न सिकाउँछ । वास्तवमा आनन्द र शान्तिको स्रोत हामीभित्र नै छ । यही श्रीकृष्णको जीवनको गहिरो दर्शन हो । हामी सबैको हृदयभित्र श्रीकृष्णको दिव्य चेतनाको अवतरण होस्, जसले हामीलाई हरेक क्षणमा हरेक परिस्थितिमा मुस्कान, शक्ति र प्रेमले भरिपूर्ण बनाओस् । श्रीकृष्णजन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना !