अमरराज नहर्की
तनहुँ, साउन ३१ गते । निर्माण कम्पनीको लापरबाहीले गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा निर्माणाधीन ‘नमुना पशुपन्छी अस्पताल’ को काममा विलम्ब भएको छ । काम पूरा नगरी ठेकेदार बेपत्ता भएकाले भवन निर्माण कार्य अलपत्र परेको केन्द्रले जनाएको छ ।
सम्झौता भएको मितिमा काम सम्पन्न नभएपछि कात्तिक मसान्तसम्मका लागि म्याद थप भए पनि ठेकदार गैरजिम्मेवार भएर काम अलपत्र छाडेको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, ‘‘पटक पटक तोकेता गरेर फोन गरेका छौं, तर ठेकेदार सम्पर्कमा आएका छैनन् । काम अलपत्र परेको छ ।’’ हाल ठेकेदारले निर्माणको काम नगरेकाले थपिएको समयमा काम सम्पन्न हुने सम्भावना नदेखिएको अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार भवन निर्माणको जिम्मा चितवनस्थित इको विल्डर्सले पाएको छ ।
भवनको ५५ प्रतिशत भुक्तानी र ७० प्रतिशत निर्माणको काम भएको छ । अधिकारीले भन्नुभयो ‘‘जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कम्पनीलाई दबाब दिँदै आएको भने पनि अटेर गरेकाले ठेक्का तोड्नु पर्ने अवस्था आउन लागेको छ ।’’ पोखरामा र दमौलीमा सँगै काम सुरु भए पनि पोखरामा निर्माण सम्पन्न र सञ्चालनमा आइसकेको भए पनि दमौलीमा ठेकेदारको लापरबाहीले गर्दा सञ्चालन गर्न नसक्दा गुणस्तरीय सेवा प्रदान गर्न कठिन भएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक चार करोड ९० लाखको लागतमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै जाने योजनामा प्रदेश सरकारको छ । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न १० करोड लाग्ने अनुमान छ ।
दमौलीमा पशु अस्पताल सञ्चालन भएपछि तनहुँका साथै छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी आसपासका किसाना लाभान्वित हुने छन् । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत पुसमा काम सम्पन्न हुनुपर्नेमा नभएपछि असार मसान्त सम्म थप भएकोमा थपिएको समयमा पनि काम नभएपछि कात्तिक ३० गते सम्मका लागि म्याद थप भएको हो । केन्द्रका प्रमुख अधिकारीले भन्नुभयो, ‘‘डेढ वर्ष अघि नै निर्माण पुरा हुनुपर्नेमा निर्माण कम्पनीको ढिलासुस्तीले तीन वर्ष सम्म पनि अधुरै रहेको छ ।’’