रामकृष्ण बोहरा
बागलुङ, साउन ३१ गते । साढे दुई करोड लागतमा बागलुङ नगरपालिका– १ को खुदुर्के मालढुङ्गामा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन गण्डकी) परियोजनाअन्तर्गत मौलिक शैलीको राधाकृष्ण मन्दिर तथा सभाहल निर्माण गरिएको छ ।
इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट सङ्कलित दुई करोड ५० लाख रुपियाँको लागतमा राधाकृष्णको मन्दिर र सभाहल निर्माण भएको इस्कोन बागलुङका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदासले बताउनुभयो । उहाँका अनुसार, दानमुठीबाट सयौं वर्ष पुरानो मालढुङ्गास्थित लक्ष्मीनारायण मन्दिर पनि जीर्णोद्वार गरिएको छ ।
मालढुङ्गास्थित लक्ष्मीनारायण गुठीको १७ रोपनी जमिनमा इस्कोन गण्डकी परियोजना सञ्चालित छ । तीन वर्ष अघि निर्माण भएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार कृष्ण मन्दिर परिसरमा ४३ करोडका संरचनाहरु बन्ने छन् । सभाहल, मन्दिर, शाकाहारी भोजनालय, धर्मशाला र अतिथिगृह, कालीगण्डकी किनारमा स्नानस्थल, आरतीको विशेष मञ्च र ध्यानस्थल निर्माण गरिने अध्यक्ष अच्युतदासले जानकारी दिनुभयो ।
इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट सङ्कलित रकमबाट ती संरचना बनाउने गरी डिपिआर बनेको अच्युतदासले बताउनुभयो । कालीगण्डकी नदी किनारमा बसेर ध्यान गर्ने, नियमित स्नान गर्ने संरचना पनि बन्ने छन् । इस्कोनमा विदेशबाट आउने अधिकांश भक्तजनहरु फर्किंदा कालीगण्डकी नदीमा स्नान गर्ने र गंगाजल लैजान चाहेकाले सहज व्यवस्थाका लागि नदी किनारमा स्नान संरचना निर्माण गर्न लागिएको हो ।
यो परियोजनामा कालीगण्डकी नदी व्यवस्थापन गर्न संरक्षण पर्खालका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा सिंचाइ तथा जलस्रोत विकास डिभिजन कार्यालयले पर्खाल निर्माण गरेको छ । ‘‘पर्खालले परियोजनाको जमिन र संरचना सुरक्षामा सहज भएको छ’’ अध्यक्ष अच्युतदासले भन्नुभयो । परियोजना सञ्चालनका लागि सरकारी सम्पत्ति उपयोग नगर्ने भएकाले भक्तजनलाई सहयोग गर्न आग्रह गरिएको अच्युतदासको भनाइ छ ।
मन्दिर र सभाहलको आज श्रीकृष्ण जन्माष्टमीको दिन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साताव्यापी कार्यक्रम गरेर इस्कोन बागलुङले कृष्ण जन्माष्टमी मनाइरहेको छ । धार्मिक गतिविधि बाहेक बागलुङ, पर्वत र म्याग्दीबाट छनोट भई फाइनल प्रवेश गरेका तीन जिल्लाका १२ विद्यालयबिच आत्धात्मिक हाजिरीजवाफ प्रतियोगिता, महाहरिनाम संर्कीतन, कृष्ण प्रवचन, नाटक, नृत्य र ग्रन्थ प्रदर्शन, महाभिषेक, यज्ञ कार्यक्रम गरिएको छ ।