यामराज बिष्ट
पञ्चकोशी (दैलेख), साउन ३१ गते । बर्खे मेला पर्वको अवसर पारेर नारायण नगरपालिकाले भदौ १ गते स्थानीय बिदा दिएको छ । नगरपालिकाले उक्त दिन लाखे काट्ने पर्व मनाइने भएकाले कार्यालय तथा शैक्षिक संस्थाहरूलाई बिदा दिइएको जनाइएको छ ।
कार्यपालिकाको निर्णय अनुसार लाखे काट्ने दिनलाई यहाँ परम्परागत रूपमा बर्खे मेलाको समापनको दिनका रूपमा मनाइँदै आएकाले स्थानीय विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनुभयो ।
यस अवसरमा नगर क्षेत्रमा सांस्कृतिक कार्यक्रम, धार्मिक अनुष्ठान आयोजना हुने भएकाले स्थानीयहरूलाई सहभागिता सहज होस् भनेर बिदा घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
नारायण नगरपालिकाका अनुसार, यो पर्व दैलेखको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने परम्परागत उत्सव हो, जसमा विभिन्न गाउँ–बस्तीबाट सहभागी भई स्थानीय वाद्यवादन, नाचगान र जात्रा प्रदर्शन गरिन्छ ।
नगरपालिकाले अति आवश्यक सेवा बाहेक विदाका दिन नगरपालिका मातहतका शाखा, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी तथा केन्द्रहरु बिदा रहने सर्वजनिक सूचनामा उल्लेख छ ।