घोराही समाचारदाता
घोराही, साउन २९ गते । वर्षाका कारण सडकमा पहिरो खस्दा नेपाल–भारत सीमा अन्तर्गत गढवा गाउँपालिका–८, मुसिनाकावासीलाई भारतीय भूभाग भएर हिँड्दै कोइलाबाससम्म आउनुपर्ने बाध्यता भएको छ । नेपाली भूमि अन्तर्गत कोइलाबास–मुसिनाका जोड्ने कच्ची सडकमा पहिरो खस्नुका साथै खोलाले सडक बिग्रिँदा असारको अन्तिम सातादेखि सडक अवरुद्ध भएको छ ।
गढवा गाउँपालिका–८, कोइलाबास निवासी गोविन्द अधिकारीले सडक अवरुद्ध हुँदा स्थानीयलाई भारतीय क्षेत्रको बाटो हिँडेर कोइलाबाससम्म आउनुपर्ने बाध्यता भएको बताउनुभयो । दैनिक घरायासी सामान किनमेलसँगै बालबालिकालाई पढ्न, वडा कार्यालयमा पर्ने कामसँगै बिरामी हुँदा स्वास्थ्य चौकी आउने बाटो बन्द हुँदा समस्या भएको बताउनुभयो । अधिकारीले भन्नुभयो, “मुसिनाकावासीका लागि किनमेल गर्नेदेखि बालबालिकाले पढ्ने र बिरामी हुँदा औषधी किन्न आउने ठाउँ कोइलाबास हो तर राम्रो बाटो नहुँदा दुःख पाउनुपर्ने अवस्था छ ।”
उहाँका अनुसार भरपर्दो सडक नहुँदा बर्सातको समयमा प्रत्येक सडक बिग्रने र स्थानीयले दुःख पाउने अवस्था रहेको छ । उहाँले भारतीय क्षेत्रमा भएको राष्ट्रिय निकुञ्जको जङ्गल भएर हिँड्दा जङ्गली जनावरको डरसँगै निकुञ्जका मानिसले सिकार खेल्न आएको होकी भनेर शङ्का गर्ने गरेको बताउनुभयो । कोइलाबास–मुसिनाका जस्तै राजपुर गाउँपालिका–७ अन्तर्गत गोठुवा हुँदै भालुमारे–सुनपथरी जोड्ने सडक पनि वर्षाका कारण अवरुद्ध छ । स्थानीय श्रीराम यादवले साउन लागेसँगै परेको वर्षाका कारण सडक अवरुद्ध हुँदा हिँड्डुल गर्न समस्या भएको बताउनुभयो । पानी नपर्दा हिउँदमा सवारीसाधन चल्ने सडक वर्षासँगै बिग्रिँदा स्थानीयलाई पैदल हिँड्नसमेत समस्या भएको र दुःख बिरामी पर्दा समस्या हुने गरेको बताउनुभयो ।
नेपाल–भारत सीमा क्षेत्र जस्तै शान्तिनगर गाउँपालिका–१, पेदीखोला–बाघचौर हुँदै बाघबिसौना गाउँ जोड्ने ग्रामीण सडक पनि वर्षाका कारण बिग्रिएको छ । बाघचौर–बाघबिसौना सडकखण्डमा पहिरो खस्नुका साथै भत्किएर अवरुद्ध भएपछि स्थानीय सास्ती भोग्न बाध्य भएका हुन् । शान्तिनगर–१, बाघचौर निवासी मीनबहादुर खत्रीले सुक्खा समयमा ट्याक्सी चल्ने सडक बिग्रिएपछि अहिले पैदल हिँड्नसमेत समस्या भएको बताउनुभयो ।
सडक भत्किनुका साथै ठाउँ ठाउँमा पहिरो गएपछि ग्रामीण सडकमा यातायातका साधन चल्नै छाडेको भन्दै खत्रीले भन्नुभयो, “पानी नपर्दासम्म सडक राम्रो थियो । गाउँसम्मै ट्याक्सी आउँदा बजार किनमेल गर्न जान सजिलो भएको थियो तर बाटो बिग्रिएपछि समस्या भएको छ ।” सडक बिग्रिँदा करिब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।
राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले भने वर्षाको समयमा बर्सेनि नाकावासीलाई सडकको समस्या हुने गरेको बताउनुभयो । सडक नै नपुगेका विभिन्न बस्तीमा सडक पु¥याउने काम गाउँपालिकाले गरे पनि बर्सातमा निरन्तर पर्ने पानीका कारण सडक भत्किने र पहिरो गएर अवरुद्ध भइरहेको बताउनुभयो । गाउँपालिकासँग सीमित बजेट र स्रोतसाधन भएका कारण बर्सातको समयमा जाने पहिरो हटाएर सडक सञ्चालन गर्न समस्या भइरहेको बताउनुभयो ।