सन्तोष दहित
दाङ, साउन २९ गते । अधिकांश मानिसले सर्प देख्यो कि मार्न खोच्छन् । अझ विषालु सर्प देख्यो कि मारिहाल्छन् । सर्पले टोकेपछि मान्छे मर्छ भन्ने बुझाइले पनि अधिकाश मानिसले सर्प देख्ने वित्तिकै मार्न खोज्नु स्वभाविक पनि होला । तर, दाङमा एक जना यस्तो व्यक्ति छन्, जो सर्प देख्नेवित्तिकै उद्धार गरेर नजिकै जंगलमा या सुरक्षित वासस्थानमा छोडिदिन्छन् ।
पेशाले फोटो पत्रकार हुनुहुन्छ न्यौपाने । उहाँ घोराही उपमहानगरपालिका १५ का स्थायी बासिन्दा हुनुहुन्छ । फोटो खोज्दै शहरदेखि ग्रामीण वस्तिमा पनि उत्तिकै खट्नुहुन्छ । पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) मा समेत आवद्ध रहेका न्यौपाने फोटो पत्रकारको रुपमा परिचित हुनुहुन्छ । फोटो पत्रकार संघ दाङका अध्यक्ष समेत रहनुभएका न्यौपाने पछिल्लो समयमा सर्प उद्धारमा लाग्नुभएको छ । विगत पाँच वर्ष यता उहाँ सर्प उद्धारमा क्रियाशील हुनुहुन्छ ।
सर्प उद्धारका लागि भने अहिलेसम्म तालिम लिनुभएको भने छैन। यद्यपि उहाँ अहिलेसम्म दुर्इ हजार बढी सर्पको उद्धार गरिसकेको बताउनुहुन्छ ।
घोराही बजारमा कसैको घरमा सर्प देखियो कि न्यौपानेलार्इ सम्झिन्छन् । सबैले उहाँलाई नै फोन गर्छन् । सर्प उद्धारको लागि उहाँलाई फोन आयो कि जुनसुकै सयम र जस्तोसुकै काम छाडेर उहाँ सर्प उद्धारमा हाजिर भइहाल्नुहुन्छ । ‘जीवित सर्पलाई उद्धार गरेर सुरक्षति वासस्थानमा छोड्न पाउँदा मेरो मनमा शान्ति र आत्मा सन्तुष्ट हुन्छ उहाँले भन्नुभयो । सर्प उद्धारका लागि खबर आयो कि कुदिहाल्छु, सकेसम्म सर्पलाई नमारुन, जीवितै उद्धार गर्न पाउँ भन्ने लाग्छ, उहाँले भन्नुभयो ।
पाँच वर्षअघि घोराहीका एक युवा बसन्त सुवेदीले सर्प उद्धार गर्न लागेको थाहा पाएपछि न्यौपाने क्यामेरा बोकेर फोटो खिच्न पुग्नुभएकोथियो । फोटो खिच्दाखिच्दै न्यौपानेले सर्प उद्धार गर्न सिकेको बताउनुहुन्छ । खासमा म सर्प उद्धारको लागि फोटो खिच्न गएको थिएँ, उहाँले भन्नुभयो, तर फोटो खिच्न जाँदा सर्प उद्धार कसरी गर्ने जानकारी पाएँ, सर्पको आनिवानी थाहा पाएपछि सर्प उद्धारमा लागे । त्यसपछि म निरन्तर अहिलेसम्म सर्प उद्धारमा क्रियाशिल छुँ। कहिलेकाहि सर्प उद्धार गर्नमा भ्याइ नभ्याइ हुन्छ, न्यौपानेले भन्नुभयो, कुनै दिन ४ देखि ५ वटा सर्प समेत उद्धार गरेको छु ।’
‘अहिलेसम्म विभिन्न प्रजातिको सर्प गरेर दुर्इ हजार बढी सर्प उद्धार गरिसकेको छु, न्यौपानले भन्नुभयो– धेरैजसो गोमन सर्प उद्धार गरेको छु ।’ उहाँले गोमन, करेत, धामन प्रजातिका सर्प बढी उद्धार गरेको बताउनुभयो । घोराहीमा अरुभन्दा धेरै गोमन सर्प रहेको उहाँको भनाइ छ । सर्प उद्धार गरेपछि डिभिजन बन कार्यालय घोराहीमा बुझाउने गरेको उहाँले बताउनुभयो । ‘पहिला पहिला सर्पलाई नजिकै जंगल या सुरक्षित वासस्थानमा छाडिदिने गरेकोको थिएँ, न्यौपाले भन्नुभयो, तर सर्प छोड्ना जाँदा स्थानीयहरुले गाली गलोज गर्न थालेपछि डिभिजन बन कार्यालय घोराहीमा बुझाउने गरेको छु ।’ उहाँ अहिलेसम्म निशुल्क रुपमा सर्प उद्धार गर्दैआएको बताउनुभयो ।
‘सर्प उद्धार गरेको बापत कसैले पैसा लिनुस् भन्नुहुन्छ, उहाँले भन्नुभयो, म पैसाको लागि सर्प उद्धार गर्न आएको होइन भन्छु, यो मेरो निःशुल्क सेवा हो र सर्पलाई जीवित उद्धार गरेर सुरक्षित बास्थानमा छोडिदिने र मान्छेलाई सर्पको टोकाइबाट जोगाउने हो ।’ सर्प उद्धारको लागि चाहिने सामग्री तथा औजारहरु आफैले किनेको बताउनुहुन्छ। सर्प उद्धारकै लागि अस्ट्रेलियबाट एउटा स्टिक मगाएको उहाँको भनाइ छ । त्यही स्टिकबाट उहाँले सर्प उद्धार गर्दैआएको बताउनुभयो ।
‘मान्छेहरुले सर्पले टोकेपछि मरिन्छ भनेर सर्प देख्यो कि मार्छन्, तर यो गलत हो उहाँले भन्नुभयो, सर्पलाई नचलाउँदासम्म मान्छेलाई टोक्दैन ।, कुनै पनि जिव जनावरलाई पनि चलाउँदा आफ्नो प्रतिरक्षाको लागि आक्रमण गर्छ, सर्पलाई पनि चलाएपछि आफ्नो रक्षाका लागि मात्र टोक्छ ।’ त्यसैले सर्पलाई मार्न नहुने न्यौपानेको भनाइ छ । वातावरण र पर्यावरणलाइ सन्तुलित राख्नमा सर्पले धेरै सहयोग गर्नेगरेको उहाँले बताउनुभयो ।
सर्प व्यवस्थापनमा चूनौती
उद्धार गरेको सर्पलाई व्यवस्थान गर्नमा चुनौती थपिएको सर्प उद्धारकर्ता न्यौपाने बताउनुहुन्छ । बस्ति नजिकका जंगलमा स्थानीयहरुले सर्प छोडन् दिँदैनन् उहाँले भन्नुभयो, स्थानीय सरकारले उद्धार गरेको सर्पलाई कहाँ छोड्ने स्थान नदेखाउँदा उद्धार गरेको सर्पलाई व्यवस्थापन गर्नमा चूनौती थपिएको छ । ‘पहिला उद्धार गरेको सर्पलाई जंगलमा छोड्ने गरेको थिए न्यौपानेले भन्नुभयो । त्यसजंगलका वरिपरिका स्थानीय समुदायले विरोध गरेपछि अहिले डिभिजन वन कार्यालय घोराहीमा छोड्ने गरेको छु ।’