• १४ भदौ २०८२, शनिबार

अठ्ठाइस बर्षदेखि मुक्तिनाथ मन्दिरमा भक्तजनको सेवामा पुजारी

blog

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा अवस्थित मुक्तिनाथ मन्दिरका हिन्दु पुजारी कृष्णप्रसाद सुबेदी । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), साउन २९ गते । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्यद्वार बाहिर एकाविहानै भेटिनुहुन्छ पुजारी कृष्णप्रसाद सुबेदी । 

आसपासका क्षेत्रमा हिउँले ढाकिएका हिमालको पूर्वपट्टिको भित्तामा समुन्द्र सतहदेखि ३ हजार ६१० मिटरको उचाईमा अवस्थित मन्दिरमा आउने दर्शनार्थीलाई दैनिक मुक्तिनाथ मन्दिरको महिमा सुनाउनुहुन्छ । पहिलो पटक मुक्तिनाथ मन्दिरको दर्शन गर्न आएको जानकारी पाएमा नेपाली तथा विदेशी हिन्दु, बौद्धमार्गीहरूलाई यस क्षेत्रलाई समय दिएर घुम्न अनुरोध गर्नुहुन्छ । 

बि.स २०५४ साल जेठ १५ गते म्याग्दीको साविकको पिप्ले गाविस हाल रघुगंगा गाउँपालिका –३ बाट पैदलयात्रा गरी मुक्तिनाथ पुग्नुभएका पूजारी सुबेदीले २८ बर्षदेखि पुजारीको रुपमा मुक्तिनाथ मन्दिरमा कार्यरत हुनुहुन्छ ।

मन्दिरभित्र बौद्धमार्गी भुमा र बाहिरपट्टी हिन्दुहरूको तर्फबाट पुजारी सुबेदीले टीका लगाएर प्रसाद दिनुहुन्छ । २८ बर्षदेखि कठ्याग्रिँदो जाडोमा पनि भक्तजनको सेवामा भेटिनुहुने पुजारी सुबेदी र झुमाको समन्वय र सहकार्यमा दर्शनार्थीलाई सहज पूजाआजा र दर्शनको सुविधा भएको छ । भगवान् मुक्तिनाथको मूर्तिसहित मन्दिरभित्र चढाएको भेटी, बस्तु तथा संरक्षणको जिम्मा भुमाले लिनुहुन्छ । टीका लगाएर दिएको दक्षिणासहितको उपहारबाट पुजारी सुबेदीले आफ्नो जीवन निर्वाह गर्नुभएको छ ।

तत्कालीन समयमा मन्दिरमा प्रवेश गर्दा भक्तजनले दिएको भेटीबाट समेत नपुग्ने अवस्थामा घरबाट खाद्यान्न मगाएर समेत आफ्नो भोजन गर्ने गरेको अनुभव पुजारी सुबेदीसँग छ । उहाँ भन्नुहुन्छ, ‘‘बिरामी हुदाँ पनि भक्तजनको सेवामै धेरै दिन बिताएको छु, यो पवित्र क्षेत्रमा प्रवेश गरेको करिब तीन दशक पुग्न लाग्यो, अति आवश्यक काम बाहेक मुक्तिनाथ क्षेत्र छोडेको छैन ।’’ 

तत्कालीन राज्य र विद्रोहीबिचको युद्धकालीन अवस्थामा निकै कम भक्तजन मुक्तिनाथ आउनेगरेको स्मरण गदैं पुजारी सुबेदीले दैनिक ५० देखि १ लाखसम्म भक्तजनहरूलाई सेवा दिएको बताउनुभयो । पुजारी सुबेदी भन्नुहुन्छ, ‘‘यहाँ विश्वभरबाट भक्तजनहरू आउनुहुन्छ, भारतीय प्रधानमन्त्रीको आगमनपछि भारतीय हिन्दु धर्मालम्बीहरूको संख्या ह्वात्तै बढेको छ ।’’ 

मुक्तिनाथ मन्दिरलाई हिन्दुहरुले मुक्ति क्षेत्र र बौद्धमार्गीहरुले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी) भन्छन् । हिन्दू र बौद्ध धर्मावलम्बीले साझा रूपमा पूजा गर्ने मुक्तिनाथ मन्दिर विश्वकै लागि एकता र सहकार्यको सन्देश भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता प्रमेश गुरुङको भनाई छ । संसारको जुनकुनै स्थानमा भए पनि एक पटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुने विश्वास रहेको छ । 

हिन्दु धर्मग्रन्थअनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेको इतिहास छ भने बौद्धमार्गीअनुसार तिब्वतबाट बौद्धमार्गी पण्डित कैलाश पर्वत दर्शन गर्न गएको र कैलाशको जल लिएर मुक्तिनाथमा सञ्चयगरी १०८ धारा बनाइएको बताउँछन् । मुक्तिनाथ मन्दिर परिसरमा नरसिंह गुम्बा छ । गुम्बाभित्र गुरु पद्धमसम्भवको मूर्ति छ । पद्धसम्भव हिमाली भेकमा बौद्ध धर्म फैलाउने गुरु मानिन्छन् । 

यस बाहेक मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका –४ मा समुद्री सतहदेखि पाँच हजार पाँचसय मिटर उचाइमा अवस्थित धार्मिकस्थल दामोदरकुण्ड समेत हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल भएको पुजारी सुबेदीको भनाई छ ।