• २ भदौ २०८२, सोमबार

‘गाईजात्रा भनेको राजनीतिक प्रहार मात्र होइन’

blog

जोगिन्दर पानवाला

जोगिन्दर अर्थात् शिवशङ्कर रिजाल जो ‘जोगिन्दर पानवाला’ को नामबाट चिनिनुहुन्छ । लामो समयदेखि उहाँले आफ्नो कलामार्फत दर्शकलाई हँसाइरहनुभएको छ । उहाँले राजनीति र सामाजिक विकृतिमाथि तिखो व्यङ्ग्य गर्दै आउनुभएको उहाँले अहिले ‘गाईजात्रा माहेत्सव–२०८२’ मा प्रहसन देखाइरहनुभएको छ । गाईजात्रा महोत्सवमा केन्द्रित भएर गोरखापत्रका लागि उहाँसँग सुकृत नेपालले गर्नुभएको कुराकानी :

गाईजात्रा महोत्सव कस्तो चल्दै छ ?

साउन २४ गतेदेखि सुरु भएको गाईजात्रामा यस पटक कमेडी दरबार र कमेडी च्याम्पियनका कलाकारसहित म, सुरेन्द्र केसी (मुला साग), राजा राजेन्द्र, लक्ष्मण गम्नाङ्गेलगायत हास्य कलाकारको बृहत् गाईजात्रा चलिरहेको छ । राजनीतिक, सामाजिक झटारोसहितको गाईजात्रा साउन ३१ गतेसम्म राष्ट्रिय नाचघरमा प्रस्तुत गरिरहेका छौँ । à पहिले र अहिलेको गाईजात्रा महोत्सवमा के फरक छ ?

पहिला मिडिया एकदमै साँघुरो थियो । अहिले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट धेरै कलाकारको उत्पत्ति भएको छ । पहिला हामी आफ्नो अनुहार देखाउनका लागि टेलिभिजन धाउनु पथ्र्याे । अहिले त्यो अवस्था छैन । प्रविधिले राम्रो फड्को मार्नाले कलाकारका लागि धेरै कुरा सहज भएको छ तर गाईजात्रामा व्यङ्ग्य हान्ने विषय भने एउटै हो । पहिला पनि राजनीति विषयमै धेरै व्यङ्ग्य हानिन्थ्यो र अहिले पनि त्यही नै छ । राजनीतिक विषयमा व्यङ्ग्य हान्ने काम घट्दै जाला भनेको झन् झन् बढ्दै गइरहेको छ ।

यस वर्षको गाईजात्रामा तपाईंको प्रहसन कस्तो विषयमा हो ?

अहिले नयाँ पुस्ताले मागेको, सोचेको र चाहेका चिजलाई हामीले गाईजात्रामा प्रस्तुति गरिरहेका छौँ । यस वर्षको गाईजात्रामा म र सुरेन्द्र केसी (मुलाको साग) ले राम्रो प्रस्तुति पस्कन खोजेका छौँ । म जोगिन्दर मेडिकल हल तथा क्लिनिकको डाक्टर हुन्छु भने सुरेन्द्र केसी (मुला साग) एउटा प्राइभेट प्रहरी चौकी खोलेर बस्नुहुन्छ । प्रहरीले प्राइभेट प्रहरी चौकी खोल्न मिल्छ त ? भन्ने प्रश्नमा डाक्टरहरूले क्लिनिक खोल्न पाउने, सरकारी इन्जिनियरले कन्सलटेन्सी खोल्न पाउँछ भने प्रहरीले किन नपाउने भन्ने भनेर व्यङ्ग्य गरेका छौँ । प्राइभेट प्रहरी चौकी खोलेर अहिलेसम्म नखोलिएका धुलो लागेका फाइल खोल्ने तथा देश र जनतालाई न्याय दिलाउने काम गर्छु भन्ने विषयमा रहेर हामीले यस पटकको गाईजात्रा प्रस्तुत गरिरहेका छौँ ।

 गाईजात्राको समयमा मात्र स्फूर्त देखिनुहुन्छ अन्य समयमा तपाईंको खासै चर्चा सुनिँदैन । नयाँ पुस्तालाई पालो दिनुभएको हो ?

हराएको छैन, प्रत्येक हप्ता कार्यक्रम चलाइरहेको छु । नयाँ पुस्ता आउनु पर्छ । यो प्रकृतिको नियम हो । नयाँले पुराना कलाकारलाई विस्थापित गर्दै लाने यो चलिआएको चलन हो तर अहिले हास्य क्षेत्रमा आएका कलाकार धेरै राम्रो प्रतिभा भएका हुनुहुन्छ । नयाँ आउँदै गर्दा पुराना कलाकार विस्थापित हुनेभन्दा पनि समयको माग र प्रविधिको विकास तथा अहिलेका नयाँ पुस्ताले के माग्छन् भन्ने बुझेर त्यो विषयवस्तुमा आफूलाई उतार्न जरुरी छ ।

 गाईजात्रा भनेको राजनीतिक प्रहार मात्र हो त ?

राजनीतिक प्रहार मात्र होइन यसमा सामाजिक कुरा पनि मिसिएका हुन्छन् । राजनीतिक प्रहार मात्र हुनु भनेको जनताका आशा भरोसा टुटेर पनि हुन सक्छ । हामीले सबैभन्दा गल्ती यो देश नबन्नुमा राजा हो कि भन्यौँ र राजालाई पनि फाल्यौँ । त्यसपछि गणतन्त्र ल्यायौँ, संविधान बनायौँ । हामीले गर्नुपर्ने सम्पूर्ण काम गरिसक्यौँ । देशमा केही शान्ति पनि छ तर देश बन्छ भन्दाभन्दै सकिन मात्र बाँकी छ । त्यसैले पनि राजनीतिक प्रहार आवश्यक भएको हुन सक्छ ।

 तपाईं राजनीतिकर्मीलाई व्यङ्ग्य गर्नुहुन्छ तर आफैँ पनि राजनीतिमा लाग्नुभएको छ भन्ने सुनिन्छ ?

हरेक नागरिकलाई राजनीतिमा रुचि हुनु पर्छ । राजनीति बुझेको हुनु पर्छ । राजनीति भनेकै हाम्रो देशको मूल कानुन हो जसले देश विकास निर्माण र देशका सम्पूर्ण ऐन कानुन बनाउँछ । म सबैभन्दा पहिला कलाकार हुँ तर मैले कुनै दलमाथि राजनीतिक आस्था राखेको हुन्छु भने त्यो राजनीतिक दललाई सहयोग गर्ने मेरो मौलिक अधिकारको कुरा पनि हो ।