• २ भदौ २०८२, सोमबार

‘अष्टिम्की चित्रकला कार्यशाला’ सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २९ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा लोककला विभाग र अग्रासन थारू महिला समाजको संयुक्त आयोजनामा ‘अष्टिम्की चित्रकला कार्यशाला’ सम्पन्न भएको छ । सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आदिवासी जनसंज्ञान यस्तै लोकजीवनबाट उठेर आएको हुन सक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “लोककलाभित्र दृष्टिकोण, जनजीवन, जातीय पहिचान, राष्ट्रिय पहिचान पाउन सक्छौँ । यसबाट नेपाली पहिचान झल्किन्छ । यस किसिमका लोककलासम्बन्धी कार्यक्रमबाट यसलाई सही ढङ्गले बढाउन सकियो भने समृद्धिको दिशातर्फ उन्मुख भइन्छ ।” नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ‘अष्टिम्की चित्रकला र थारू आदिवासी ज्ञान’ विषयक कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै हाम्रा जनजीवन, जीवनपद्धतिसँग जोडिएर नेपालमा विभिन्न संस्कृति, लोककला र ज्ञान विकसित भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसलाई पुँजीकृत गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी अर्थतन्त्रसँग जोड्न सबै निकाय लाग्नु पर्छ ।” उहाँले मानवीय जनजीवन र प्राकृतिक सौन्दर्यसँग जोडिएको थारू लोककलाको आफ्नै वैशिष्ट्य र महत्ता रहेको विचार राख्नुभएको थियो । वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले नेपाली पहिचानलाई जीवन्त बनाउन थारू लोककलाको ठुलो भूमिका रहेको बताउँदै बदलिँदो परिस्थितिमा अष्टिम्की लोककलाको मौलिकता जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

अग्रासन थारू महिला समाज, काठमाडौँकी अध्यक्ष चौधरीले थारू समुदायका महिलाले मनाउने अष्टिम्की पर्वको महìवका विषयमा बताउँदै यसको पुस्तान्तरण र संरक्षणका लागि प्रतिष्ठानसँग मिलेर कार्यशाला गर्न पाउँदा खुसी लागेको बताउनुभयो । कार्यक्रममा शत्रुघन चौधरीले ‘अष्टिम्की चित्रकला र थारू आदिवासी ज्ञान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै थारू लोककला अष्टिम्कीको महìव, प्रकृति र मानवजीवनसँग त्यसको सम्बन्ध र थारू आदिवासी ज्ञानका विषयमा आफ्ना विचार राख्नुभएको थियो ।