घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), साउन २९ गते । कैलालीको लम्कीचुहा नगरपालिका लम्कीका गणेशप्रसाद ढकालले व्यवसायी सिउँडी (ड्र्यागन) फल खेतीबाट छुट्टै पहिचान बनाउनुभएको छ । सो खेती गर्नुअघि माओवादी नेताका रूपमा परिचित ढकालको नयाँ पहिचान व्यावसायिक खेतीले दिएको हो । ढकालले सिउँडी फलको व्यावसायिक खेती गरेको चार वर्ष मात्र भएको छ । लगाएको दोस्रो वर्षदेखि नै फल दिन थालेपछि नै उहाँमा थप उत्साह जागेको छ ।
सुरुमा एक सय पोलमा आठ सय बेर्ना लगाएका ढकालले उत्पादन राम्रो दिन थालेपछि अहिले खेती बढाउनुभएको छ । सँगै जोडिएको छिमेकीको सात कट्ठा जमिन भाडामा लिएर उहाँले गत वर्ष दुई हजार बेर्ना थप लगाउनुभएको हो । पाँच किसिमका ड्र्यागन फल लगाए पनि सबैभन्दा मिठो र फल्ने मलेसियन रेड भेराइटी रहेको उहाँको अनुभव छ ।
राजनीतिमा लागेका ढकाललाई कोरोना सङ्क्रमणले फलफूल खेतीतर्फ लाग्न प्रेरित गरेको हो । कोरोना सङ्क्रमण भएर शिथिल भएपछि उहाँलाई उपचारका लागि नेपालगन्ज लगिएको थियो । उपचारका क्रममा सिउँडी फलको महत्व र यसको बजारभाउ थाहा पाएपछि नेपालगन्जबाट बेर्ना ल्याएर खेती थालेको ढकाल बताउनुहुन्छ ।
फल दिन थालेकै वर्ष लगानी उठेपछि ढकालले ड्र्यागन खेतीमा भविष्य देख्न थाल्नुभएको हो । उहाँ भन्नुहुन्छ, “जेठदेखि फुल्न सुरु भएर मङ्सिरसम्म फल दिन्छ । एक सिजनमा पाँचदेखि सात पटकसम्म फल्छ । होलसेल मूल्य ४५० रुपियाँ र खुद्रा पाँच सय रुपियाँ प्रतिकिलो बिक्री भइरहेको छ । माग धेरै छ, पु¥याउन नै सकेको छैन ।”
गत वर्ष सात क्विन्टल फल बेचेका ढकालले यस वर्ष चौथो लटसम्म पुग्दा दुई क्विन्टल बेचिसकेको उल्लेख गर्नुभयो ।
एक कट्ठा जमिनमा यसको खेती गर्न पोल, बेर्ना, मल, श्रमलगायत एक लाख रुपियाँ बराबरको लाग्ने ढकालको अनुभव छ । फङ्गस र ढुसी मुख्य चुनौती भएकाले सिँचाइ, मल, गोडमेलमा विशेष ख्याल गर्नु पर्छ । अहिले ढकालले फलसँगै बेर्नाको मागसमेत बढ्दै गएको बताउनुभयो । बेर्ना बेचेर पनि राम्रै आम्दानी गरेको उहाँले सुनाउनुभयो । ढकालमा अनुसार क्यान्सर, टाइफाइड, डेङ्गुलगायतका रोगसँग लड्ने प्रतिरक्षा शक्ति ड्र्यागनमा हुन्छ ।
उहाँले राजनीतिबाट व्यवसायमा लागेपछि पहिचान र सम्मान पनि पाउनुभएको छ । ढकाल भन्नुहुन्छ, “पहिला राजनीतिक दृष्टिकोणबाट हेरिन्थ्यो मलाई अहिले ड्र्यागन फलको व्यवसायीका रूपमा पहिचान पाएको छु । सम्मान पाएको छु । यसले आत्मविश्वास बढाएको छ । उत्पादन बढाउँदै लैजानु पर्छ भन्ने उत्प्रेरणा मिलेको छ ।”
ढकालले गत आर्थिक वर्षमा लम्कीचुहा नगरपालिकाबाट उत्कृष्ट किसान सम्मान पाउनुभएको छ भने अन्य विभिन्न निकायसमेत सम्मान पाउनुभएको छ । उहाँले कृषि ज्ञान केन्द्र कैलालीबाट ड्र्यागन खेती प्रवर्धन कार्यक्रमका लागि ५० प्रतिशत अनुदान पाउनुभएको छ ।
भूमिपुत्र कृषि तथा पशुपन्छी फर्म तथा ड्र्यागन पार्क लम्कीको नाममा काठमाडौँ, धनगढीलगायतका ठाउँमा ढकालको ड्र्यागन फल जाने गरेको छ । उहाँले अरूको उत्पादनसमेत किनेर बजारमा पठाउने गरेको बताउनुभयो । अब ड्र्यागन फलबाट वाइन र जुस बनाउने योजना रहेको उहाँले सुनाउनुभयो ।