• ८ भदौ २०८२, आइतबार

गुल्मीमा स्थानीय तहको 'असल अभ्यास' आदानप्रदान

blog

रमेश विश्वकर्मा 

गुल्मी, साउन २८ गते । गुल्मीमा स्थानीय तहको 'असल अभ्यास' सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा जिल्ला समन्वय समिति गुल्मीद्वारा आयोजित कार्यक्रममा जिल्लामा रहेका दुई नगरपालिका र दश गाउँपालिकाको ‘असल अभ्यास’ सम्बन्धी अनुभव आदान प्रदान गरिएको हो ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै विशेषगरी स्थानीय तहले गरेका विविध काम र असल अभ्यास जुन अनुकरणीय होस् जसलाई आदानप्रदान गर्न सकियोस् भन्ने मुख्य उदेश्य रहेको बताउनुभयो । स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदान(प्रदान कार्यक्रमले एक अर्का स्थानीय तहबाट सिक्ने अवसर सिर्जना गर्नुका साथै सेवा प्रवाहलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सहयोग प्रदान गर्ने उहाँले बताउनुभयो ।

संघीयताको मर्मअनुसार स्थानीय तहहरूले नागरिकसँग नजिक रहेर प्रभावकारी सेवा प्रवाह गर्न जरुरी रहेको भन्दै उहाँले असल अभ्यासहरूको साझा प्रयासले समग्र जिल्लाको विकासमा मद्दत पुग्ने बताउनुभयो । "तीनै तहका सरकारबीच समन्वयको आवश्यकता छ । योजना निर्माण, श्रोत व्यवस्थापन, जनशक्तिको क्षमता अभिवृद्धि र व्यवस्थापनका विषयमा संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने," उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तेजिन्द्र सलामी मगरले स्थानीय तहको ‘असल अभ्यास’ सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रमले आगामी दिनमा नयाँ असल काम गर्न प्रेरित गर्ने बताउनुभयो । सुशासनसँग सम्बन्धित विभिन्न विषयगत क्षेत्रहरूमा स्थानीय तहहरूबाट अनुभवको आदानप्रदान हुने यस अन्तक्रिया कार्यक्रमबाट स्थानीय तहको सेवा प्रवाह सुधारका हुने विश्वास लिइएको उहाँले बताउनुभयो । 

कार्यक्रममा सहभागी यस जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले पालिकामा भए गरेका विविध कामहरुको बारेमा जानकारी गराउनुभयो।

यस जिल्लाको रेसुङ्गा नगरपालिकाले पर्यटन प्रवर्द्धन, मुसिकोट नगरपालिकाले क्षयरोगमुक्त नगरपालिका अभियान, धुर्कोट गाउँपालिकाले बालश्रम मुक्त पालिका, मदाने गाउँपालिकाले प्रधानध्यापकसँग कार्यसम्झौता गरी शिक्षा क्षेत्रमा सुधार, मालिका गाउँपालिकाले पढ्दै कमाउदै कार्यक्रम (विद्यालयका विद्यार्थीहरु), इस्मा गाउँपालिकाले कृषि बजारीकरण जस्तो महत्त्वपूर्ण अनुकरणीय अभ्यास गरेको पाइएको छ ।

त्यस्तै, चन्द्रकोट गाउँपालिकाले पढ्दै कमाउदै कार्यक्रम ९विद्यालयका विद्यार्थीहरु०, सत्यवती गाउँपालिकाले कृषि बजारीकरण, कालिगण्डकी गाउँपालिकाले सिंचाइ प्रवर्द्धन कार्यक्रम, रुरुक्षेत्र गाउँपालिकाले शिक्षामा डिजिटल प्रविधि, छत्रकोट गाउँपालिकाले स्मार्ट आमा कार्यक्रम र गुल्मीदरबार गाउँपालिकाले फलफूल तथा तरकारी खेति प्रवर्द्धन कार्यक्रम जस्तो महत्त्वपूर्ण अनुकरणीय अभ्यास गरेको पाइएको जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय अधिकारी होमनाथ काफ्लेले गर्नुभयो ।