• २ भदौ २०८२, सोमबार

सन्तानेश्वर मन्दिरमा खचाखच धार्मिक पर्यटक

blog

नरैनापुरको चुरे पहाडको चुचुरोमा रहेको सन्तानेश्वर मन्दिर र पर्यटकहरु । तस्विरः सिराज खान

सिराज खान

नेपालगन्ज, साउन २८ गते । बाँकेको नरैनापुर गाउँपालिका –५ वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा यस वर्ष नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लागेको छ । 

केही वर्ष अघिसम्म सुनसान रहने गरेको सो मन्दिरमा केही समय यता आएर धार्मिक पर्यटकको चाप अत्यधिक बढ्दैगएको हो । साउन महिनामा सबैभन्दा बढी पर्यटक त्यहाँ पुगेको नरैनापुर गाउँपालिकाले जनाएको छ । 

महादेव मन्दिर र त्यहाँको मनोरम दृश्य अवलोकन गर्न वार्षिक करिब ३० देखि ४० हजार नेपाली र भारतीयहरु त्यहाँ पुग्न थालेको जनाउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले यस पटक साउन महिनामा मात्र १५ हजार बढी पर्यटक पुगेको बताउनुभयो । 

सो मन्दिर नेपालगन्जबाट २५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर–पूर्व पहाडको चुचुरोमा अवस्थित छ । सन्तान नभएकाहरूले त्यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेकाले सन्तानेश्वर मन्दिरमा बाँके, बर्दिया, सुर्खेत, दाङ र सीमापारी भारतका विभिन्न स्थानबाट पर्यटकहरू दर्शनका लागि आउनेगरेका छन् । 

पर्यटकहरू पहाडको उकालो चढिरहँदा जति थकित देखिन्छन्, सन्तानेश्वर मन्दिर दर्शन गरेर फर्किदा उनीहरू त्योभन्दा बढी हर्षित र खुसी देखिने गरेका छन् । चुरे पहाडको चुचुरोमा मन्दिर रहेकाले भगवानको दर्शनसँगै पहाडको मनोरम दृश्य अवलोकन गर्न पाउनु सन्तानेश्वर महादेव मन्दिरको विशेषता हो । 

मन्दिर परिसरबाट राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको अवलोकन समेत गर्न सकिन्छ । मन्दिरको दर्शन गर्न नेपाल र भारतका विभिन्न ठाउँका भक्तजन यस पटक साउनमा धेरै ठुलो संख्यामा आएको नरैनापुर –६ का वडा अध्यक्ष प्रेम मौर्यले बताउनुभयो । 

उहाँका अनुसार नरैनापुर कोहलाबाट दुई घण्टाको हिँडाइपछि सन्तानेश्वर महादेव मन्दिर रहेको फेदमा पुग्न सकिन्छ । त्यहाँबाट डाँडाको बाटो हुँदै करिब एक घण्टा पैदल हिँड्नुपर्छ । 

पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्दा भारतीय पर्यटकहरू उत्साहित हुनेगरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष साहको भनाइ छ । उहाँका अनुसार मन्दिरसम्म पुग्न सडक विस्तार भएसँगै पर्यटकको आकर्षण बढ्दै गएको हो । 

यसलाई पर्यटकीय हब बनाउन लुम्बिनी प्रदेश सभाका सदस्य कृष्णा केसी नमुनाले  खानेपानी, सडक र सौर्य उर्जामा बजेट ल्याएर काम गराइरहेको बताउनुभयो । उहाँले यसअघि त्यहाँ खानेपानी र विद्युतको समस्या रहेको बताउनुभयो । 

स्थानीयका अनुसार सडक नहुँदा मन्दिरसम्म पुग्न निकै समस्या थियो । अहिले सडक बनेपछि पर्यटकहरु ठुलो संख्यामा आउन थालेको उनीहरुको भनाइ छ । बघौडा–नेपालगन्ज हुलाकी सडक बनेपछि मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका छन् ।