• २ भदौ २०८२, सोमबार

बडिमालिका पर्यटनको दृष्टिले भू-स्वर्ग हो : मुख्यमन्त्री शाह

blog

कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, साउन २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धार्मिक आस्था र पर्यटनको दृष्टिकोणले बडिमालिका भू-स्वर्ग रहेको बताउनुभएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको गत आर्थिक वर्ष २०८१-८२ को वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री शाहले बडिमालिका संरक्षण क्षेत्रसम्मको आवागमनलाई सहज बनाउने काम गर्न सो मन्त्रालयलाई निर्देशन दिनुभएको छ । 

उहाँले बडिमालिकाको दर्शन गर्न गएका दुई जनाको दुःखद निधन भएकोप्रति दुःख व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार भएको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकासम्मको आवागमन सहज बनाउन आवश्यक रहेको औंल्याउनुभयो । उहाँले यसै वर्षभित्र काम सम्पन्न गर्ने गरी प्राविधिक टोली खटाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ । 

यसैगरी, मुख्यमन्त्री शाहले वन क्षेत्रबाट सङ्कलित काठ बिक्री गर्न वन पैदावार बोलपत्र आह्वान गरी लिलाम गर्नुपर्ने र मन्त्रालयले कुनै पनि काम टेण्डरमार्फत गर्नुपर्ने औंल्याउनुभएको छ । प्रदेशको वनक्षेत्रमा करोडौंका काठ कुहिएर खेर गइरहेका छन् ।