बुटवल समाचारदाता
बुटवल, साउन २८ गते । तराईमा गर्मी महिनामा विषालु सर्पको बिगबिगी हुने गर्दछ । अहिले पानी पर्ने र घाम लाग्ने क्रम बढिरहँदा विषालु सर्प जमिनमुनिबाट बाहिर निस्कने क्रम बढिरहेको छ । पानी धेरै परेका कारण जमिनमुनिको प्वाल पानीले भरिँदा सर्पबाहिर निस्कने क्रम बढेको छ । पानी आउने र घाम लाग्ने क्रम बढिरहँदा विषालु सर्प मानिसको घरभित्रै पस्ने क्रमसमेत बढेपछि सर्प उद्धारकर्तालाई पनि भ्याइनभ्याइ छ ।
रूपन्देहीको तिलोत्तमाका सर्प उद्धारकर्ता विशाल पाण्डेले गत आइतबार मात्रै एकै दिन १३ वटा गोमन (कोब्रा) सर्पको उद्धार गर्नुभयो । त्यसभन्दा अघिल्लो दिन शनिबार चार वटा गोमन सर्पको उद्धार गर्नुभयो ।
सर्प उद्धारकर्ता पाण्डे भन्नुहुन्छ, “घाम लाग्ने र पानी पर्ने क्रम चलिरहँदा विषालु सर्प पनि जमिनमुनिबाट बाहिर निस्कने गरेको र ती सर्प मानिसको घरभित्र, गोठमा तथा कुखुराको खोरमा समेत पस्ने भएकाले अहिले धेरै जोखिमको समय छ ।” उहाँले रुपन्देहीमा विगत चार वर्षदेखि सर्प उद्धार गर्दै आउनुभएको छ । चार वर्षको बिचमा उहाँले करिब एक हजार दुई सय सर्पको उद्धार गरिसक्नुभएको छ ।
गत महिना रूपन्देहीको तिलोत्तमास्थित एकै घरबाट २३ वटा गोमन सर्पको उद्धार गर्नुभएका विशालले यो वर्ष करेतभन्दा गोमन सर्प धेरै देखिएको बताउनुभयो । उहाँका अनुसार यो वर्ष दुई वटा मात्रै करेत सर्पको उद्धार गरिएको छ भने धेरै गोमन सर्पको नै उद्धार गरिएको छ । पछिल्लो समय मानिसमा सर्प मार्नु हुँदैन भन्ने चेतना बढी भएकाले पनि अहिले आफूहरूलाई सर्प उद्धार गर्न भ्याइनभ्याइ भएको पाण्डेको भनाइ छ । मानिसमा सर्पसम्बन्धी चेतना बढेका कारण पनि अहिले सर्पसँग जोगिने, सतर्कता अपनाउने र विषालु सर्पको पहिचान गर्न सक्ने भएकाले सर्पले टोक्ने र मृत्यु हुने क्रम घटेको पाण्डेको भनाइ छ ।
अर्का सर्प उद्धारकर्ता चेतबहादुर सारूले पनि सर्प मार्नु हुँदैन भन्ने चेतना बढेकाले पनि सर्प देख्नेबित्तिकै मानिसहरूले आफूलाई खबर गर्ने गरेको बताउनुभयो । रुपन्देहीको सैनामैना नगरपालिका–१०, पानबारीका सर्प उद्धारकर्ता चेतबहादुर सारू ‘कान्छा’ लाई अहिले उद्धारका लागि फुर्संदै छैन ।
जब वर्षा मौसम आउँछ अनि सारू कान्छाको व्यस्तता सुरु हुन्छ । वर्षाको मौसममा विषालु सर्पको बिगबिगी बढेको छ । सारूका अनुसार पहिले पहिले पर्याप्त सूचना नहुँदा र सर्प उद्धारकर्ता नहुँदा घरभित्र वा बाहिर सर्प देख्नेबित्तिकै मार्ने प्रवृत्ति थियो तर अहिले सामाजिक सञ्जालकै कारण सर्प मान्नु हुँदैन भन्ने चेतना वृद्धि भएकाले उद्धारकर्तालाई भ्याइनभ्याइ भएको हो ।
सारूलाई पनि रुपन्देहीका विभिन्न स्थानबाट सर्प उद्धार गर्न बोलाउने गर्छन् । उहाँले पनि दैनिक तीन वटासम्म सर्प उद्धार गर्दै आउनुभएको छ । सारू भन्नुहुन्छ, “गोमन सर्प नै सबैभन्दा धेरै उद्धार हुने गरेको छ ।” सारू कान्छाले यो वर्षको गर्मीयाम सुरु भएपछिको करिब चार÷पाँच महिनामा सयभन्दा बढी विषालु सर्प उद्धार गरी जङ्गलमा छोड्नुभएको छ ।