• ८ भदौ २०८२, आइतबार

राखिँदैन दर्शनार्थीको अभिलेख

blog

रेसुङ्गा पोखरीमा स्नान गर्दै दर्शनार्थी । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता 

तम्घास (गुल्मी) साउन २८ गते । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा प्रत्येक वर्ष साउनेमेला लाग्ने गर्दछ । विगतका वर्षमा जस्तै यस वर्ष पनि साउन १ गतेदेखि रेसुङ्गा क्षेत्रमा मेला लागेको छ । उक्त मेलामा छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायतका जिल्लाबाट दर्शनार्थी आउने गर्दछन् । 

गुल्मीसहित छिमेकी जिल्लाबाट दर्शनार्थी आउने गरे पनि कतिले यस क्षेत्रको दर्शन गरे भन्नेबारेमा कुनै अभिलेख राखिएको छैन । उक्त क्षेत्रमा रेसुङ्गा संरक्षण समितिले पूजाआजासहितको व्यवस्था गर्दै आए पनि अभिलेख भने हालसम्म राख्न सकेको छैन । रेसुङ्गा संरक्षण समितिका सुरेशचन्द्र भुसालले आफूहरूसँग वास्तविक अभिलेख भने नभएको स्वीकार गर्नुभयो । रेसुङ्गामा आउने दर्शनार्थीको अन्दाजका भरमा भन्ने गरेको बताउँदै दक्ष जनशक्तिको अभावका कारण वास्तविक अभिलेख राख्न नसकिएको उहाँको भनाइ छ । 

गत वर्ष करिब एक लाखभन्दा बढीले साउन महिनामा दर्शन गरेको र यस वर्षको साउन महिनाभरमा दुई लाखभन्दा बढीले रेसुङ्गा पोखरीको स्नान र यज्ञशालाको दर्शन गर्ने उहाँको दाबी छ । यस क्षेत्रमा अपार सम्भावना भएर पनि ओझेलमा परेकाले स्थानीय सरकार र राज्यले यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

भुसालले यस क्षेत्रमा धेरै प्रकारका जडीबुटी भएको र यसको पहिचान हुन नसकेकाले यसमा पनि स्थानीय सरकारको भूमिका आफूले खोजेको बताउनुभयो । एक महिनासम्म चल्ने मेलामा रेसुङ्गामा रहेको पोखरीमा साउन महिनाभर स्नान गर्नाले हालसम्म गरिएका पाप नष्ट भई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । 

सिद्धपोखरीमा स्नान गरी सिद्धको मन्दिरमा गएर दर्शन गर्नाले अधोगतिमा गएका पितृको पनि उद्धार हुने मान्यता रहँदै आएको 

भुसालको भनाइ छ । मेला अवधिभर यज्ञशाला र सिद्धको मन्दिरमा धार्मिक प्रवचनसँगै रुद्री, चण्डी शिवजीको दैनिक पूजा, वेदपारायण पाठ, पितृपारायण, विधिवत् रूपमा हवन हुने गरेको छ । रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले हालसम्म वास्तविक अभिलेख राख्न नसकिएको बताउँदै अब वास्तविक अभिलेख राख्न पहल गर्ने बताउनुभयो । 

समुद्री सतहबाट ८०० मिटरदेखि २,३५० मिटरसम्म रहेको यस पहाडको नाम रेसुङ्गा रहनुमा विभिन्न कारण र किंवदन्ती छन् । पहिला त्रेतायुगमा महर्षि ऋष्य श्रृङले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिका नामबाट रेसुङ्गा नामकरण भएको हो भन्ने भनाइ कतिपयको छ भने कसैले यो क्षेत्र मगरात क्षेत्र भएकाले यो मगर भाषामा रेस भनेको नुहाउनुमा उपसर्ग जोडेर रेसुङ्गा नामकरण रहेको हो भन्ने गरेका छन् । 

ऋष्य श्रृङले साधनाको स्थानका रूपमा रेसुङ्गामा आई गरेको भन्ने भनाइ पनि छ । साथै श्रीकृष्णले रेसुङ्गामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुनडाँडामा बसी श्रवण गर्दथे र रुरुक्षेत्रका तपसीको बर्खे आश्रम रेसुङ्गा नै थियो भनेर भनिन्छ । महाप्रभु लक्ष्मीनारायणबाट निर्मित पोखरी हिन्दु धर्मावलम्बीका लागि सबै तीर्थ नदीको जलनिर्मित पोखरी हो । यस ठाउँमा हरिशयनी, हरिबोधनी एकादशी र साउन महिनाभरि स्नान गर्नेको भिड लाग्दछ । रेसुङ्गाको शिरमा निर्मित ४० फिट अग्लो भ्यु टावर चढेर दृश्यावलोकन गर्ने गरिएको छ ।