• १४ भदौ २०८२, शनिबार

प्यागोडा शैलीमा राधाकृष्णको रथ निर्माण

blog

राधाकृष्णको नयाँ बनाइएको रथ । तस्बिर ; नवराज कट्टेल

रङ्गेली समाचारदाता

विराटनगर, साउन  २८ गते  । विराटनगरमा प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ १ गते निकालिने राधाकृष्णको यात्राका लागि यस वर्ष ६० लाख रुपियाँ खर्चेर नयाँ रथ निर्माण गरिएको छ । जुन रथ निर्माण सम्पन्न भएको राधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो । 

विव्रmम संवत् १९८८ देखि विराटनगरमा राधाकृष्णको प्रतिमालाई खट (खाट) मा राखेर यात्रा गराउने परम्परा २०२५ सालदेखि रथमा रूपान्तरण भएको थियो ।  राधाकृष्णको युगल जोडीलाई रथारोहण गराउने चलन समेत ५७ वर्ष पुगिसकेको छ भने खटयात्रासहित जोड्दा यस पटक ९५ औँ संस्करणको धार्मिक यात्रा भदौ १ गते आइतबार आयोजना हुने छ । 

२०२५ सालमा कल्पना गरिएको रथ जीर्ण भएपछि यो वर्ष विराटनगरमा निकालिने राधाकृष्ण यात्रा नयाँ रथमा हुने छ । निर्माण समितिले करिब ६० लाख लागतमा दुई हजार दुई सय केजी फलामको डायसमा सखुवा र सिसौको काठबाट कलात्मक ढङ्गका बुट्टा कुँदेर निर्माण गरिएको छ । वास्तुशास्त्र अनुसार प्यागोडा शैलीमा निर्मित संरचनामा धार्मिक महत्त्व भरिएको छ । 

राधाकृष्ण रथयात्राका प्रधान सारथी पण्डित भवानी शङ्कर निरौलाका अनुसार रथको अगाडि भागमा चन्द्र–सूर्यको झन्डा फहराइन्छ । जसको महत्त्वव विशेष छ । त्यसबाहेक अगाडिको बायाँ कोणमा हनुमान, दायाँ कोणमा गरुडको झन्डा रहने छ । आग्नेय कोणमा बसेका हनुमानले रथको रक्षा गर्ने महत्त्व रहेको छ । त्यस्तै दायाँ कोणमा गरुडको झन्डा रहने छ । जसको महत्त्व भगवान् कृष्णको वहान र अगाडि बढ्न सदा तत्पर रहने भन्ने हुन्छ । पछाडिको एउटा कोणमा दुर्गा र अर्को कोणमा गणेशको झन्डा फहराइन्छ । जसको अर्थ शक्ति, सामर्थ र विघ्नहरण गर्ने रूपमा लगाइन्छ । 

पण्डित निरौलाका अनुसार रथ गुडाउने चार चक्का रहेका छन् । त्यसैले यसलाई धर्मरूपी रथ मानिन्छ । जसले धर्म, अर्थ, काम (सुख) र मोक्षको प्रतीकको रूपमा कार्य गर्छ । यसबाहेक यस पटकको रथमा राधाकृष्णलाई विराजमान गराउने विशेष सिंहासन निर्माण गरिएको छ । जसमा भगवान् कृष्णको जन्मपछि मथुराबाट गोकुलमा सार्ने व्रmममा अष्टनागले सुरक्षा गरेको प्रतीकको निर्माण गरिएको छ । 

अष्टनागको स्वरूप अनन्त, बासुकी, पद्म, महापद्म, तक्षत, कुलिर, कर्कट, शङ्खका रूपमा मानिन्छ । पण्डित निरौलाका अनुसार अष्टनागको सिंहासनमा राधाकृष्णको युगल जोडीलाई राखेर नगरको नौ किलोमिटर दुरी पार गराउनका लागि हुन सक्ने सम्भावित अवरोधको व्यवस्थापन स्थानीय सरकार विराटनगर महानगरपालिकाले सम्बन्धित कार्यालयमार्फत गराएको छ । जसमा विद्युत् पोलमा रहेका नेपाल टेलिकमका फाइबर तारलाई सात स्थानमा भूमिगत गरिएको छ । त्यसबाहेक रुखका हाँगाले रोक्न सक्ने सम्भावित अवस्थालाई मध्यनजर गर्दै काटछाँट गरिएको छ ।

सखुवाको काठमा कुँदेर बनाइका चित्र भगवान् श्रीकृष्णसँग मेल खाने किसिमका रहेको बताइएको छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा धार्मिक राधाकृष्ण रथयात्रा आयोजना हुने गरेको छ । नयाँ बनिरहेको रथ प्यागोडा शैलीको २१ फिट अग्लो, १४ फिट चौडा र १९ फिट लामो छ । यो जुवाबाहेकको डायसको क्षेत्रफल रहेको छ । १४÷१९ वर्ग फुटको डायसमा नौ फिट चौडा र १० फिट उचाइको कोठा बनेको छ । यसअगाडि भगवान् रहने क्षेत्र चार÷चारको मात्रै थियो । 

राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार विराटनगर महानगरपालिकाले ४४  लाख ७८ रुपियाँ बजेट उपलब्ध गराएको थियो तर सामान खरिद गर्ने व्रmममा त्यो रकम सकिएपछि यसमा बुट्टा कुँद्न र स्टल गर्नका लागि थप रकम समितिले जुटाएको हो । 

दक्षिण एसियामै दोस्रो ठुलो मानिने रथयात्रा अवलोकनमा आउने श्रद्धालुले भगवान्लाई हेर्न नपाएको गुनासो गरेका कारण नयाँ रथ निर्माण गर्नु परेको हो । रथ निर्माणका लागि दुई सय क्युफिट काठको जोहो गरिएको थियो । तीन तहको छानामाथि गजुरको भाग रहने छ । छानाको सबैभन्दा तल्लो भाग अलिक चौडा, त्यसमाथि केही सानो अनि अझै सानो स्तर रहने छ । सबैभन्दा तल्लो स्तर छानाभन्दा तल काठको पट्टी चारैतिर लगाइएको छ । जसमा कलात्मक बुट्टा कुँदिएको छ । नयाँ बनेको रथको वजन करिब सात हजार केजी रहेको अनुमान गरिएको छ । 

विराटनगर–१, तीनपैनीस्थित राधाकृष्ण मन्दिरपरिसरबाट निकालिने रथ मेनरोड हुँदै रोडशेष चोक, त्यसपछि धरान रोडबाट महेन्द्र चोक, बरगाछी हुँदै नौ किलो मिटरको रुटमा घुमाइने छ । पूजाअर्चनाका लागि ४४ स्थानमा विश्राम गरिने छ । कोशी प्रदेश सरकारले रथयात्राको दिन मोरङ, सुनसरी, झापा र उदयपुरमा बिदा दिने घोषणा गरेको छ ।