• ८ भदौ २०८२, आइतबार

रुपन्देहीको सहरबाट गुल्मीदरबारको सेवा

blog

गुल्मीदरवार गाउँपालिकाले रुपन्देहीको बुटवलबाट सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), साउन २८ गते ।
गुल्मीदरबार गाउँपालिकाले गाउँबाट हुने सेवा प्रवाह रुपन्देहीको बुटवल सहरबाट प्रदान गरेको छ । पालिकाभित्रका नागरिकहरु रुपन्देही आसपास र बुटवल सहरमा बढी बसोबास गर्दै आएकाले उनीहरुलाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविरको माध्यमबाट सेवा प्रवाह गरेको पालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाका अनुसार गुल्मीदरबार स्थायी घर भइ रुपन्देही आसपासमा बस्दै आउनुभएका वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नका लागि गुल्मीदरबार जान समस्या हुने भएकाले तीन दिनको शिविरको आयोजना गरी सेवा प्रवाह गरेको बताउनुभयो । साउन २५ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको शिविरबाट २७४ जनाको सामाजिक सुरक्षाभत्ता नवीकरण भएको उहाँले बताउनुभयो ।  पालिकाभित्रका नागरिकहरुको सेवाका लागि नै आफूहरु निर्वाचित भएको बताउँदै स्थानीय सरकारको जनताले अनुभूती हुने गरी आफूहरुले काम गर्ने उहाँको भनाइ छ ।

गुल्मीदरबार गाउँपालिका वडा नम्वर सात देवीस्थान ज्योतीपोखराका ८५ वर्षीय कमानसिंह कार्कीले रुपन्देहीबाट सेवा लिन पाउँदा खुसी ब्यक्त गर्नुभयो । विगत तीन वर्षदेखि रुपन्देहीमा बसोबास गर्दै आउनुभएका उहाँले वर्षायामको समयमा गाउँमा सामाजिक सुरक्षा भत्ता नविकरण गर्न जान समस्या हुने भन्दै पालिकाले उक्त झन्झटबाट मुक्त गरिदिएकोमा पालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । ठाउँठाउँमा पहिरो खस्ने र बाटोको समस्या, त्यसैमाथि आफूजस्ता वृद्धवृद्धाहरुको समस्यालाई बुझेर बुटवलबाटै सेवा लिन पाएकोमा खुसी व्यक्त गर्दै यस्तै कार्यलाई निरन्तरता दिन उहाँले पालिकालाई आग्रह गर्नुभयो ।

यस्तै जिल्लाको छत्रकोट गाउँपालिकाले पनि रुपन्देही र काठमाडौँमा बस्ने वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ । साउन १५ गते काठमाडौँमा ६५ जना र १७ गते रुपन्देहीमा २०३ जनाको सामाजिक सुरक्षा भत्ता नविकरण गरेको हो । यस्तै ब्यक्तिगत घटनादर्ता काठमाडौँमा सात र रुपन्देहीमा १३ जनाको गरिएको पालिकाले जनाएको छ ।