रामकृष्ण बोहरा
बागलुङ, साउन २८ गते । जैविक गाउँपालिकाका रुपमा परिचय बनाएको जिल्लाको पश्चिमवर्ती ताराखोलामा इटालियन स्याउ फलेको छ । ताराखोला गाउँपालिका– ५ को हिलेगाउँमा स्याउ फलेको हो । सोही वडाका वडा अध्यक्ष समेत रहनुभएका मनबहादुर रोकाले आफ्नै बारीमा स्याउ फलाउन सफल हुनुभएको हो ।
रोकाले दुई वर्षअघि पोखरास्थित बागबानी केन्द्रबाट इटालियन गाला, फुजी, रोटा, गोल्डेन स्याउका बिरुवा लगेर परीक्षणको रुपमा लगाउनुभएको थियो । दुई वर्षमै स्याउका बिरुवाले उत्पादन दिन थालेपछि रोका दंग हुनुहुन्छ । ‘‘बोटमा लटरम्म फल लागेको छ, दानामा रङ पनि मुस्ताङी स्याउको भन्दा कम छैन’’ रोकाले प्रसन्न हुँदै भन्नुभयो, ‘‘स्याउका बोटमा लागेका दाना हेर्दा राम्रै उत्पादन दिन्छ भन्ने आशा जागेको छ ।’’
ताराखोलाको हिलेगाउँ समुन्द्र सतहबाट दुई हजार चार सय मिटरको उचाइमा पर्छ । त्यहि हिलेगाउँको कोदो र मकै खेती गर्ने पाखोबारीमा स्याउ फलेको हो । ‘‘यसअघि जुम्लाबाट डेलिसियस स्याउका बिरुवा ल्याएर परीक्षण गरेको थिए, त्यो बोटले सोचेजस्तो स्याउ उत्पादन नदिने सङ्केत पाएपछि प्राविधिकहरुको सल्लाहमा इटालियन प्रजातीका स्याउ लगाएको थिए, अहिले राम्रो फलेको छ’’ रोकाले भन्नुभयो ।
रोकाको बारीमा लगाएका विभिन्न जातका ६० स्याउका बिरुवाले उत्पादन दिएका छन् । स्याउ टिप्ने समयमा गुलियो स्वाद आउने गाउँपालिकाका कृषि शाखाका संयोजक सन्जिव थापा बताउनुहुन्छ । ‘‘अहिले स्याउको स्वाद अमिलो छ, असोज महिना स्याउ पाक्ने समय भएकाले गुणस्तर थाहा पाउन त्यतिबेलासम्म कुर्नुपर्छ’’ संयोजक थापाले भन्नुभयो ।
हिलेगाउँमा स्याउ खेतीको सफल परीक्षणले ताराखोलाका उच्च क्षेत्र स्याउ खेती संभव छ भन्ने पुष्टि गर्ने थापाको भनाई छ । ताराखोलाको उच्च क्षेत्रमा उन्नत जातका स्याउखेती गरेर किसानलाई आम्दानीसँग जोड्न सकिने संभावना रहेको थापा बताउनुहुन्छ । रोकाको बारीमा स्याउ फस्टाएको देखेपछि छिमेकी पनि स्याउखेतीबारे चासो गर्न थालेका छन् ।
रोकाले ताराखोलाकै चम्पारी गाउँमा परीक्षणको रुपमा लगाएको स्याउले यो वर्ष उत्पादन दिएको छ । गाउँमा स्याउ फलेको देखेपछि रोकाको बारीमा अहिले अवलोकन गर्न आउनेको भीड नै लाग्न थालेको छ । बागलुङमा ढोरपाटनमा व्यवसायीक स्याउ उत्पादन हुन्छ । निसीखोला गाउँपालिकाको अर्नाकोट, बागलुङ नगरपालिकाको सिगाना र भकुण्डे लगायतका ठाउँमा स्याउ उत्पादनको परीक्षण सफल भएका छन् ।