प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रादेशिक अस्पतालहरु सुधारोन्मुख रहेको बताउनुभएको छ । रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा आयोजित मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको निरन्तरको प्रयासले अस्पतालका सेवाहरुमा सुधार हुँदै गएको ठोकुवा गर्नुभयो । सेवा सुधार हुँदा सेवाग्राहीको सङ्ख्या पनि बढ्दै गएको उहाँको तर्क रहेको छ ।
प्रादेशिक अस्पतालहरुको गुणस्तर कायमका लागि आवस्यक जनशक्ति तथा उपकरनाहरुको व्यवस्थापन ध्यान दिएको उहाँले बताउनुभयो ।
सरकारी अस्पताल प्रति आम नागरिकको विश्वास बढाउन आवश्यक रहेको बताउनुहुँदै मुख्यमन्त्री सिंहले न्यूनतम खर्चमा गुणस्तरीय, भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । गौर प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्न पहल गर्ने प्रतिवद्धता समेत उहाँले गर्नुभयो ।
निजिस्तरमा सञ्चालित अधिकांश अस्पताल अझै पनि मापदण्ड विपरित रहेकाले नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम अस्पतालहरु सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय तहले १५ शय्या अस्पताल स१चालन गर्न अनुमति दिन सक्ने कानुनी प्रावधान रहेकोमा कानुनमा उल्लेखित मापदण्ड पूरा गर्ने अस्पताललाई मात्र स्थानीय तहले अनुमति दिनुपर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो ।
मधेश प्रदेशमा एम्बुलेन्समा ब्यापक सेटिङ्ग रहेको उहाँले बताउनुभयो । कर छुटमा भारतबाट ल्याइएका एम्बुलेन्सहरुसेवामुखी नभएर व्यापारमुखी बनेको र मापदण्ड विपरित सञ्चालनमा रहेकाले निगरानी आवस्यक रहेको मुख्यमन्त्री सिंहले भन्नुभयो ।