• २ भदौ २०८२, सोमबार

अभिभावकको लय पछ्याउँदै बराइली

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, साउन २८ गते । मोरङको उर्लाबारी–६ निवासी प्रतीक मञ्जुल बराइली अहिले मूर्तिकला साधनामा व्यस्त हुनुहुन्छ । 

भर्खर २४ वर्ष पुग्नुभएका प्रतीकले कलमसँगै छिनो र घन पनि चलाउन सिक्नुभयो । उहाँले विगत सम्झँदै भन्नुभयो, “कलम चलाउन थाल्दा चार वर्षको थिएँ होला । १० वर्षको नहुँदै बुवाआमासँगै छिनो र घन पनि चलाउन सिकिहालेँ ।” बुवा मञ्जुल र आमा कौशिला दुवै जना मूर्तिकार । कसैको घरमा पाहुना जाँदा वा कतै घुम्न जाँदा बुवाआमासँगै हुन्थेँ । उहाँहरू जहाँ जतिबेला पनि मूर्तिकलाकै कुरा गर्नुहुन्थ्यो । ढुङ्गा खोपेर कसरी राम्रो आकृति निकाल्ने ? साक्षात् तस्बिर कसरी बनाउने ? मानिसलाई कसरी आकर्षित गर्ने ? उहाँहरूको साझा सपना नै मूर्तिकला थियो । बुवाआमासँग सधैँ एउटै विषयवस्तु वरिपरि रहेर काम गर्दागर्दै प्रतीकलाई मूर्तिकलाको भोक जाग्न थालिसकेको थियो । प्रतीक भन्नुहुन्छ, “अचेल मूर्तिकला परिवारको परम्परागत पेसा जस्तो लाग्छ ।”

प्रतीकका बुवाआमा लामो समयदेखि मूर्तिकला क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँहरूको सङ्घर्ष र कलाप्रतिको समर्पण देख्दै प्रतीक हुर्किनुभयो । प्रतीकले थप्नुभयो, “बुवाआमाको प्रभाव र कलाप्रतिको मोहकै कारण मैले पनि मूर्तिकला रोजेँ ।”

उहाँले गत वर्ष गणेश भगवान्को मूर्ति खोप्नुभयो । जुन मूर्तिले कोशी प्रादेशिक राष्ट्रिय ललितकला पुरस्कार जित्यो । त्यसपछि प्रतीकले यो क्षेत्रमा अझ बढी समय दिन थाल्नुभयो । हाल उहाँ मूर्तिकला केन्द्रमा दैनिक नौ घण्टा काम गर्नुहुन्छ । हालसम्म एक सयभन्दा बढी मूर्ति बनाइसक्नुभएका प्रतीक एउटा ढुङ्गामा चित्र निकालेर त्यसमा सौन्दर्य भर्ने काम जटिल भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेहनत गर्ने हो भने यो पेसाबाट राम्रो आम्दानी लिन सकिन्छ  ।”

प्रतीकका बुवा मञ्जुल मितेरीको एउटा सपना थियो राष्ट्रलाई हजार मूर्ति उपहार दिने । सो लक्ष्य पूरा गर्न उहाँहरू तिनै जना अहोरात्र खटिरहनुभएको छ । प्रतीकले मूर्तिकलाको काम गर्दागर्दै जापानमा काम गर्ने अवसर पाउनुभयो । बिहानदेखि साँझसम्म ढुङ्गा, छिनो, घन, मेसिन र कुची चलाउने हातले अरू काम गर्न किन सक्थ्यो र ? थोरै समय काम गरेपछि प्रतीक नेपालमै मूर्तिकलाको काम गर्ने भन्दै त्यहाँको रोजगारी छाडेर फर्किनुभयो । जापानमा विशाल बुद्ध मूर्ति निर्माणमा संलग्न बाबाको साधना देखेर उहाँ पनि त्यही बाटोमा लाग्ने अठोटमा पुग्नुभयो । बुवा जापानमा साधनारत हुनुहुन्छ । आमा कौशिला मोरङको उर्लाबारीमा मञ्जुल मूर्तिकला केन्द्र समालेर बसिरहनुभएको छ । मञ्जुलले देखाएको बाटोमा कौशिला पनि सँगसँगै हिँडिरहनुभएको छ । अहिले कौशिला मात्र होइन, उहाँहरूका एक मात्र छोरा प्रतीक पनि बुवाआमाको लयलाई पछ्याउँदै चर्चित मूर्तिकार बन्ने बाटोमा हुनुहुन्छ । अहिले प्रतीक स्वदेशमै बसेर मूर्तिकला क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “मूर्तिकला मेरो पेसा मात्र होइन, यो हाम्रो परिवारको आत्मा पनि हो ।”