गोरखापत्र समाचारदाता
भक्तपुर, साउन २८ गते । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको ‘फौजदारी कानुन र फौजदारी न्याय’ नामक पुस्तक विमोचन गरिएको छ ।
भक्तपुरमा आयोजित कार्यक्रममा प्राडा प्रधानाङ्ग र भण्डारीका लेखहरूको सँगालो समेटिएको ‘नेपालको फौजदारी कानुन र फौजदारी न्याय’ नामक पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेल, भक्तपुर जिल्लाका न्यायाधीश वासुदेव न्यौपाने, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. विजय मिश्र, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशीलगायतको उपस्थिति थियो ।
५३८ पृष्ठको पुस्तकमा नेपालमा अभियुक्तको अधिकार र तिनको संरक्षण, नेपालको संविधान–२०७२ मा फौजदारी न्यायसम्बन्धी हक एक अध्ययन, मुलुकी अपराधसंहितामा अपराधका सहभागितालगायत विभिन्न २१ विषयमा व्याख्या गरिएको छ । पुस्तकमा नेपालको फौजदारी कानुन, यसका कमीकमजोरीका साथै सुधार गर्नुपर्ने विषय पनि समेटिएको छ ।