गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २८ गते । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मङ्गलबार माइतीघर मण्डलामा ‘हामीले परिवर्तन गरौँ’ नामक सडक नाटक प्रदर्शन भएको छ । युवाको नेतृत्वमा रहेको संस्था, युथ डिस्कसनले उक्त नाटक प्रदर्शन गरेको हो ।
नाटकले सामाजिक उत्तरदायित्व, सक्रिय नागरिक र सामाजिक रूपान्तरणलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने युवा शक्तिलाई उजागर गरेको छ । यसै गरी नाटकले वर्तमान सामाजिक चुनौतीबारे प्रकाश पार्दै आमदर्शकमाझ सकारात्मक परिवर्तनका लागि अर्थपूर्ण कदम चाल्न प्रेरित गर्ने छ ।
शिक्षित युवाको बेरोजगारी, शिक्षामा अन्योल, गुणस्तरीय शिक्षा, युवाको विदेश पलायनलगायतका कुरालाई सडक नाटकमार्फत देखाउन खोजिएको युथ डिस्कसनका संस्थापक तथा सभापति सतिश यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “युवाले युवा नेतृत्व खोजिरहेको तर यसको बाटो देखाइदिने कसले त ? यिनै कुरालाई सडक नाटकमार्फत देखाउन खोजेका छौँ ।
युथ डिस्कसनको निर्देशनमा तयार पारिएको नाटकमा कुमार शाह, सविना न्यौपाने, सिमोन राम, अभिषेक कुमार शर्मा, तुषार अधिकारीलगायतको अभिनय रहेको थियो ।