• २ भदौ २०८२, सोमबार

पारिवारिक खेती प्रवर्धन आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेसा बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि तथा खाद्य सङ्गठन एफएओको संयुक्त आयोजनामा मङ्गलबार ललितपुरमा आयोजित पारिवारिक खेतीसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि पेसालाई सम्मानजनक बनाउन आवश्यक रहेको बताउनुभएको हो । 

करिब ६० प्रतिशत जनसङ्ख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र ०.६ हेक्टर प्रतिकृषक परिवार औसत जमिन भएको नेपाल जस्तो देशमा पारिवारिक खेती केवल आर्थिक गतिविधि मात्र नभई संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधारसमेत रहेको मन्त्री अधिकारीको भनाइ छ  । 

मन्त्री अधिकारीले कृषिक्षेत्रमा काम गर्दै आएका नमुना कृषि सहकारी, एकीकृत कृषि प्रणाली र किसान–प्रेरित नवप्रवर्तनकारी कार्यले ग्रामीण कृषि उत्पादन र कृषकको आम्दानी दुवैमा सुधार गरेको बताउँदै किसानदेखि मध्यमस्तरका कृषकसम्म समावेश रहने पारिवारिक खेती विकसित र विकासोन्मुख देशमा कृषिको प्रमुख स्वरूप रहिआएको उल्लेख गर्नुभयो । 

ग्रामीण रूपान्तरणको प्रमुख घटक रहेको पारिवारिक खेती प्रणालीलाई जलवायु परिवर्तनले चुनौती थपिदिएको भन्दै मन्त्री अधिकारीले यो चुनौतीको सामना गर्न सबै क्षेत्रको प्रयास अपरिहार्य रहेकोमा जोड दिनुभयो । 

सिँचाइको विस्तार, कोल्ड स्टोर पूर्वाधारको निर्माण र मूल्य शृङ्खला विकासलक्षित लगानीलाई प्राथमिकतामा राखी सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले यसले किसानको मेहनत र उत्पादनलाई सहजै बजारसम्म पहुँच बनाई आयआर्जनमा वृद्धि गर्न सहयोग गरेको बताउनुभयो ।  

पछिल्ला वर्षमा विभिन्न खालका प्रकोपले कृषिक्षेत्रमा ठुलो क्षति  पुगेको र यसवाट जलवायु अनुकूलनका उपायको आवश्यकता र अपरिहार्यतामा जोड दिँदै मन्त्री अधिकारीले भन्नुभयो, “त्यसैले हामीले जलवायुमैत्री कृषि, दिगो पशुपालन व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग प्रवर्धन गर्ने प्रमुख राष्ट्रिय कार्यक्रम कार्यान्वयन गरिरहेका छौँ ।”