• २ भदौ २०८२, सोमबार

व्यवसायजन्य रोगको उपचारका लागि सूची प्रकाशन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन २८ गते । सरकारले ढिलै भए पनि व्यवसायजन्य रोगको उपचार हुने कानुनी व्यवस्था गरी रोगको सूची राजपत्रमा प्रकाशित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार रोगको सूची राजपत्रमा प्रकाशित गरेको हो । 

विभागका प्राविधिक निर्देशक एवं सूचना अधिकारी मणिनाथ गोपले धेरै वर्षको प्रयासपछि व्यवसायजन्य सुरक्षा रोगको सूची प्रकाशन गरिएको भन्दै रोगको सूची कार्यान्वयनका लागि सम्बन्धित विशेषज्ञ चिकित्सक सम्मिलित समितिले मापदण्ड बनाउने जानकारी दिनुभयो । 

उक्त समितिले सिफारिस गरेपछि सूचीकृत अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था हुने सूचना अधिकारी गोपले जानकारी दिनुभयो । 

सरकारले प्रकाशन गरेको व्यवसायजन्य रोगको सूचीलाई तीन समूह र आठ श्रेणीमा विभाजन गरिएको छ । जसमा कार्य गतिविधिबाट उत्पन्न हुने एजेन्टको सम्पर्कका कारण हुने व्यवसायजन्य रोगमा रासायनिक एजेन्टका कारण हुने रोग, भौतिक एजेन्टका कारण हुने रोग, जैविक एजेन्टका कारण हुने सङ्क्रामक वा परजीवी रोग रहेका छन् ।

यसमा क्रोमियम, लिड (सिसा), पारो (मर्करी), बेन्जिन, श्वासप्रश्वासमा अवरोध गर्ने ग्यास, सल्फर अक्साइड, जिङ्क, अर्गानिक सोल्भेन्ट्स, क्लोरिन र अन्य फार्मास्युटिकल एजेन्टबाट हुने रोग छन् । त्यस्तै भौतिक कारणले हुने रोगमा श्रवण शक्ति ह्रास, विकिरणको असर, अत्यधिक तापक्रममा काम गर्दा हुने स्वास्थ्य समस्या रहेका छन् । 

जैविक तत्वबाट हुने सङ्क्रामक रोगमा हेपाटाइटिस ‘बी’ र ‘सी’ तथा एचआइभी, ब्रुसेलोसिस र एन्थ्रेक्स, टिटानस, क्षयरोग र लेप्टोस्पाइरोसिस जस्ता खिया लागेका औजार प्रयोग हुने, जुनसुकै कार्यस्थल र पशुको मूत्रबाट सर्न सक्ने रोग छन् । श्वासप्रश्वास प्रणालीका रोगमा निमोकोनियोसिस, साइडरोसिस, ब्यागासोसिस, दीर्घकालीन अवरोधक पल्मोनरी रोग छन् ।

यस्तै छाला र हाडजोर्नीका रोगमा रसायन वा अन्य वस्तुको सम्पर्कले हुने एलर्जी र डर्माटाइटिस छन् भने हाडजोर्नी रोगमा कार्पल टनेल सिन्ड्रोम, टेनोसिनोभाइटिस र बर्साइटिस, मेनिस्कस लिजन्स छन् । 

यसै गरी मानसिक तथा व्यावहारिक रोगमा आघातपछिको तनाव रोग (मानसिक समस्या) छन् जुन कामको सिलसिलामा दुर्घटना वा हिंसा जस्ता भयानक घटना भोगेका श्रमिकमा देखिने मानसिक समस्या हुन् ।

त्यस्तै व्यवसायजन्य क्यान्सरमा एस्बेस्टोस, क्रोमियम, कोइला टार्स, कोइला टार पिच वा सुट्स, बेन्जिन, आयोनिक विकिरण, टार, पिच, बिटुमेन, खनिज, तेल काठको धुलो, आर्सेनिक र यसका कम्पाउन्ड, क्याडमियम, र हेपाटाइटिस ‘बी’ ‘सी’ भाइरस जस्ता तत्वको सम्पर्कमा आउने कामलाई क्यान्सरको जोखिमयुक्त मानिएको छ ।

श्रम ऐन, २०७४ को परिच्छेद १२ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी व्यवस्था रहेको छ । जसमा कुनै व्यवसायजन्य रोग लागेमा प्रतिष्ठानले त्यस्तो रोगको उपचारका लागि तोकिएबमोजिमको उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भएमा तोकिएबमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनुपर्ने छ ।