कल्याणपुर समाचारदाता
कल्याणपुर (सप्तरी), साउन २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलबार सप्तरीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
अवलोकनपछि उहाँले औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानीलगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ८० लाख रुपियाँ विनियोजन गरिसकेको जानकारी दिनुभयो ।
सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पहल भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले उक्त औद्योगिक क्षेत्रमा ठुला उद्योग स्थापनाको प्रचुर सम्भावना रहेको बताउनुभयो ।
ठुला उद्योग स्थापना भए रोजगारीका अवसर सिर्जना हुनुका साथै राजस्व सङ्कलनमा वृद्धि भई स्थानीय, प्रदेश तथा राष्ट्रिय आर्थिक विकासमा महìवपूर्ण टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको मुख्यमन्त्री सिंहले स्पष्ट पार्नुभयो । सो अवसरमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कामु कार्यालय प्रमुख मनिषकुमार मिश्र र उद्योगी मिलन सिंहले मुख्यमन्त्री सिंहसमक्ष औद्योगिक क्षेत्रको वर्तमान अवस्था र विद्यमान समस्याबारे मुख्यमन्त्री सिंहलाई जानकारी गराउनुभएको उहाँका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिनुभयो ।
२०४४ सालमा स्थापना भएको यो औद्योगिक क्षेत्रमा हाल १२ वटा उद्योग सञ्चालनमा छन् भने थप १० वटा प्लट नयाँ उद्योग स्थापनाको प्रतीक्षामा छन् ।