गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), साउन २८ गते । बर्दियाको ठाकुरबाबा नगरपालिकाले प्लास्टिकका प्लेट विस्थापित गर्न महिला समूहमार्फत दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । ठाकुरबाबा नगरपालिका–८ मा रहेको भुड्कैया महिला समूहले दुनाटपरी उद्योग सञ्चालन गरेको हो ।
महिला समूहले अहिले खेर गइरहेको सालको पातको प्रयोग गरेर दुनाटपरी उत्पादन गरिरहेको छ । सामुदायिक वनबाट सालको पात ल्याई आधा सुकाएर साँचोमा राखेर दुनाटपरी बनाउने गरिएको छ ।
दुनाटपरी उद्योग सञ्चालन भएपछि समूहका १५ जना महिलाले प्रत्यक्ष रोजगार पाएका छन् । सामुदायिक वनमा आबद्ध महिलाले सालको पात सङ्कलन गरेर उद्योगमा ल्याएर बेच्नसमेत पाउने भएका छन् । भुड्कैया महिला समूहकी अध्यक्ष मञ्जु थारूले महिलाद्वारा सञ्चालित उद्योगमा हालसम्म २० हजार थान दुनाटपरी उत्पादन भइसकेको छ भने पाँच हजार थान दुनाटपरी बिक्री भइसकेको बताउनुभयो । वनमा खेर गइरहेको सालको पातबाट दुनाटपरी बनाई आम्दानी गर्न थालेको बताउँदै उहाँले बजार व्यवस्थापन भएमा चाहिए जति दुनाटपरी उत्पादन गर्न सक्ने बताउनुभयो ।
उद्योग सञ्चालनका लागि ठाकुरबाबा नगरपालिकाले दुई लाख ७९ हजार रुपियाँ बराबरको दुनाटपरी बनाउने मेसिन सहयोग गरेको छ । दलित महिला उत्थान सङ्घ बर्दियाले दुनाटपरी बनाउने तालिममा आवश्यक सामग्री र एक लाख ६० हजार बिउ पुँजी सहयोग गरेको छ ।
ठाकुरबाबा नगरपालिका उपप्रमुख बिना भट्टराईले प्लास्टिकका प्लेट विस्थापन गर्न दुनाटपरी उद्योग सञ्चालन गरिएको बताउनुभयो । “हामीले निर्णय नै गरेर प्लास्टिकजन्य प्लेट, प्लास्टिकका थैलाको प्रयोगमा निरुत्साहित गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “समूहले जति दुनाटपरीको उत्पादन गरे पनि नगरपालिकाले बजार व्यवस्थापन गर्ने छ ।” उहाँले नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुनाटपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकामा बर्दियाको मुख्य पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्छ । पर्यटकीय क्षेत्र भएको हुनाले पनि नगरपालिकाले जैविक विविधताको संरक्षण गर्न प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरेको छ । ठाकुरबाबा नगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकको प्रयोग २०८१ वैशाखदेखि नै निषेध गरेको थियो ।