टोपलाल अर्याल
रेसुङ्गा, साउन २८ गते । गुल्मीदरवार गाउँपालिका–१ नेटाका ४५ वर्षीय तुल्सी बहादुर क्षेत्रीको माछापोखरीमा डुबेर मृत्यु भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुरमा माछापालन गर्दै आएको पोखरीमा क्षेत्रीको शव फेला परेको छ । पोखरीको डिलमा पुरुष टिसर्ट, पाईन्ट, चप्पल र टोपी देखेपछि स्थानीयले प्रहरीचौकी मजुवालाई खबर गरेका थिए ।
पोखरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी वल मजुवा बेशको टोलीले क्षेत्रीको शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा सिओसिओसहितको प्रहरी टोली घटना मुचुल्का र अनुसन्धानका लागि मजुवा पुगेको छ । क्षेत्री मजुवामा भिनाजुको घरमा २० वर्षदेखि बस्दै आएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो ।