गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक–२०८१’ राष्ट्रिय सभामा पेस गर्नुभएको छ । राष्ट्रिय सभाका दुई जना सदस्यले सो विधेयकमा विरोधको सूचना दर्ता गराउनुभएको थियो ।
विरोधको सूचना दर्ता गराउनुहुने दुवै सदस्यले सभाको मङ्गलबारको बैठकमा प्रस्ताव फिर्ता लिएको जानकारी गराएपछि मन्त्री पाण्डेले सो विधेयक पेस गर्नुभयो । अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक–२०८१ को नामै उपयुक्त नरहेको र विधेयकको व्यवस्थामा समेत त्रुटि रहेको भन्दै सभाका सदस्यहरू भुवनबहादुर सुनार र वामदेव गौतमले विरोधको सूचना दर्ता गराउनुभयो ।
सभाका सदस्य सुनारले विधेयकको परिभाषा नमिलेको, अभौतिक सम्पदालाई राष्ट्रिय सूचीमा समावेश गर्ने सम्बन्धमा गठन हुने सिफारिस समिति गठन समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने विषयबारे मौन रहेकोलगायतका व्यवस्थाप्रति आपत्ति जनाउँदै विरोधको सूचना दर्ता गराउनुभएको थियो ।
विरोधको सूचनाबारे मन्तव्य दिनेक्रममा सदस्य सुनारले सभाको ध्यानाकर्षणका लागि विरोधको सूचना दर्ता गराएको बताउँदै फिर्ता लिएको जानकारी गराउनुभयो । सभाका अर्का सदस्य वामदेव गौतमले विधेयकको नामै त्रुटिपूर्ण रहेको भन्दै विरोध गरेको उल्लेख गर्नुभयो । उहाँले कुनै पनि वस्तु अभौतिक नहुने र विधेयकको नाममा अभौतिकको सट्टा ‘परम्परागत’ राख्न सुझाव दिनुभयो ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुवै जना सदस्यले विरोधको सूचना फिर्ता लिएकाले निर्णयार्थ प्रस्तुत गर्न नपर्ने जानकारी गराउँदै सोबारे प्रस्ट्याउन मन्त्री पाण्डेलाई निर्देशन दिनुभयो । संस्कृतिमन्त्री पाण्डेले विधेयकका सम्बन्धमा औँल्याइएका विषयवस्तुबारे समितिमा दफावार छलफलक्रममा सुधार्न खुला रहेको जानकारी गराउनुभयो ।
राष्ट्रिय सभा नियमावली–२०७५ को नियम ९९ र १०० विरोधको सूचना दर्ता गर्न पाउने व्यवस्था गरेको छ । सो नियमबमोजिम कुनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोध गर्न चाहने सदस्यले त्यसको सूचना विधेयक वितरण भएको मितिले पाँच दिनभित्र सचिवलाई दिनुपर्ने व्यवस्था गरेको छ ।
विधेयक टेबुल गर्नेक्रममा मन्त्री पाण्डेले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदा पहिचान गरी संरक्षण र प्रवर्धन कार्यविधि बनाएर हुँदै आएको जानकारी गराउनुभयो । सो विधेयक मन्त्री पाण्डेले गत वैशाख ३१ गते राष्ट्रिय सभामा दर्ता गराउनुभएको थियो । सभाको मङ्गलबारको बैठकले पूर्वस्वास्थ्य राज्यमन्त्री एवं संविधान सभाका सदस्य खड्गबहादुर बस्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।