काठमाडौँ, साउन २७ गते। एक जना नेपालीको दुर्घटनामा मृत्यु भएको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने मागसहित माल्टाको संसद भवन अगाडि नेपाली समुदायले विरोध प्रदर्शन गरेको छ। माल्टाको बिर्किकारामा आइतबार बिहान सडक दुर्घटनामा म्याग्दीका ४२ वर्षीय खिमबहादुर पुनको निधन भएको थियो।
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष सत्यनारायण झाका अनुसार दुर्घटनाबारे छानबिन गर्न र दुर्घटनामा संलग्न कार चालकमाथि कारबाहीको माग गर्दै दबाब स्वरूप माल्टाको संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको हाे। म्याग्दीका पुन करिब तीन वर्षदेखि माल्टामा ‘फुड डेलिभरि’ पेसामा संलग्न हुनुहुन्थ्यो।
पुन चढेको मोटरसाइकल रोकिरहेको अवस्थामा कारले ठक्कर दिँदा उहाँ घाइते हुनुभएको थियो। उपचारका लागि अस्पताल लग्दा उहाँको निधन भएको हो। १७ वर्षीय कार चालक माल्टा प्रहरीको नियन्त्रणमा हुनुहुन्छ। चालक अनुमति पत्र समेत नरहेको चालकलाई धरौटीमा नछोड्न, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनलगायतका मागसहित दबाब दिएको परिषद् माल्टाका अध्यक्ष झाले बताउनुभयो।
पुनको शव नेपाल पठाउन र अन्त्येष्टिका लागि खर्च जुटाउन गैरआवासीय नेपाली सङ्घले सहयोग सङ्कलनका लागि आह्वान गरेको उहाँले जानकारी गराउनुभयो । पुनको शव बुधबार माल्टाबाट नेपाल पठाउने तयारी गरिएको छ।