काठमाडौँ, साउन २७ गते। प्रतिनिधिसभाको आजको बैठकमा भाग लिनुहुने सांसदले अख्तियारसँग सम्बन्धित विधेयक, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, कारागार र कैदीको अवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो।
सो अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले राष्ट्रियसभाबाट पारित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ कहाँ छ भन्ने प्रश्न गर्दै भ्रष्टाचार नियन्त्रणसहित सुशासनका पक्षमा आएको विधेयक यथासक्य चाँडो पारित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सदनमा आफूले उठाएका विषयवस्तुमाथि सरकारको ध्यान नगएको भनी दुःख व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रणसहित सुशासनका पक्षमा सरकारको ध्यानाकर्षण गर्नुभयो।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशभरका कारागारको वस्तुस्थितिको अध्ययन गरी सुधारका निम्ति तत्काल कदम चाल्न सरकारसँग अनुरोध गर्नुभयो।
नेकपा (एमाले) की सांसद अस्माकुमारी चौधरीले कारागारमा कैदीबन्दीबिच झपड भई ज्यान जानेसम्मका घटना हुनु चिन्ताको विषय भएकाले त्यसतर्फ गम्भीर हुन गृहमन्त्रालयको ध्यानाकर्षण गर्नुभयो।
एमाले सांसद ईश्वरबहादुर रिजालले सदन बहिष्कार नभई बहसको थलो भएको उल्लेख गर्दै बहिष्कार गर्ने सांसदले जनताको आवाज दबाउने काम गरिरहेको टिप्पणी गर्नुभयो।
एमाले सांसद ईश्वरी घर्तीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजामा त्रुटि हुँदा विद्यार्थी र अभिभावकले समेत मानसिक तनाव बेहोर्नुपर्ने भएकाले परीक्षाको प्रणालीमा सुधार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले यही साउन १२ गते हुम्लाको लिमी गाउँमा पुनः हिमपहिरो जाँदा सिङ्गो गाउँ नै जोखिममा परेको जानकारी दिँदै सो क्षेत्रका प्रभावित जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग अनुरोध गर्नुभयो।
सांसद कालुराम राई, उर्मिला थेवे, कान्तिका सेजुवाल, गङ्गा कार्की, डा. चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ ल्यामु लामा तामाङ, जावेदा खातुन जागा, जुलीकुमारी महतो महासेठलगायतले आमजनताको दैनिकीसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। रासस