• ३१ वैशाख २०८३, बिहिबार

मोटरेबल पुल नदी कटानको जोखिममा

blog

रघुगङ्गा नदीमा निर्माण गरिएको पक्की मोटरेबल पुल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन २७ गते। राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला  सडक खण्डको गलेश्वरमा निर्माण गरिएको पक्की मोटरबेल पुल नदी कटानको जोखिममा परेको छ। 

बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सीमा भएर बग्ने रघुगङ्गा नदीमाथि निर्माण गरिएको पुलको बेनी तर्फको भागमा पुल संरक्षणका लागि निर्माण गरिएको आरसिसी वाल नदी कटानले भत्किन थालेपछि पुल कटानको जोखिममा परेको हो। 

निरन्तरको वर्षा सँगै नदीमा पानीको सतह बढेपछि पुल संरक्षणका लागि निर्माण गरिएको संरचना जगदेखि नदीले भत्काउन थालेपछि पुल कटानको जोखिममा परेको गलेश्वरका स्थानीयवासी बमबहादुर पुनले बताउनुभयो। उहाँले भन्नुभयो,‘‘पुल संरक्षणका लागि निर्माण गरिएको आरसिसी वाल भत्किन थालेको छ। उक्त वाल भत्किँदा पुल र बस्ती पनि जोखिममा पर्दछ।’’ कटानका कारण सडक समेत भासिन थालेपछि प्लास्टिकले छोपिएको उहाँले बताउनुभयो। 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णु चापागाईले पुल निर्माण गर्दा नै बनाइएको पुरनो संरचना नदीले खालेका कारण अहिले भत्किन थालेको बताउनुभयो। नदीमा पानीको सतह घटेपछि मात्र पुल संरक्षणको काम अगाडि बढाइने उहाँले बताउनुभयो। 

आयोजनाले गत आर्थिक वर्षमा  रघुगङ्गा नदी किनारमा पुल पारी ५० मिटर र वारी गलेश्वर तर्फ ८५ मिटर गरी एक सय ३५ मिटर कम्पोजिट पर्खाल निर्माण गरेको थियो।