• ३१ वैशाख २०८३, बिहिबार

मध्यपहाडी लोकमार्ग : दुई दशकदेखि सास्ती

blog

मध्यपहाडी लोकमार्गको बागलुङ बिंहुखण्डको हिलाम्मे सडक। तस्बिर : नवराज नेपाली

नवराज नेपाली 

बागलुङ (गलकोट) साउन २७ गते। मध्य पहाडी लोकमार्गको बागलुङ खण्डका विभिन्न स्थान क्षतविक्षत छन्। कतै पहिरो खसेको छ भने कतै कुना साँघुरिएको छ। लामो समयदेखि बागलुङ बजारदेखि बिहुँखण्ड स्तरोन्नति हुन सकेको छैन। 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने यो सडकमा दुई दशकभन्दा लामो समयदेखि स्थानीय सास्ती भोग्न बाध्य छन्। 

सडक स्तरोन्नतिका लागि जिम्मा पाएका ठेकेदार कम्पनीको चरम लापार्बाही र ढिलासुस्तीको कारण सडक बन्न नसकेको हो। काठेखोला गाउँपालिका– ६ का वडा सदस्य टीकाराम कँडेलले ठेकेदारले काम नगर्दा स्थानीयले हैरानी खेप्न बाध्य भएको बताउनुभयो।

बिहुँदेखि घोडाबाँधेसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिका लागि वि.स २०७२ माघमा एमपी/एससीएफ/ई सिसी जेभीले ठेक्का प्राप्त गरेको थियो । यो कम्पनी कालोसूचीमा परेसँगै सूर्य कन्ट्रक्सन सुर्खेत र एलिट कन्ट्रक्सनल प्रा.लि सुकेधाराले संयुक्त रुपमा ठेक्का सम्झौता पाएका थिए। तर अहिलेसम्म काम हुन सकेको छैन। 

मध्यपहाडी लोकमार्ग बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका गरेर बागलुङमा मात्र १२५ किलोमिटर छ।