• ३१ वैशाख २०८३, बिहिबार

युवाको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँः परराष्ट्रमन्त्री डा. देउवा

blog

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा। तस्बिरः परराष्ट्रमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन २७ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ। 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरुप्रति नै देशले भर गरेको बताउनुभयो।

नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवा रहेकाले यही वर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उहाँको भनाइ छ। युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो।  

मन्त्री डा. राणाले युवा सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “म युवा विदेश जानै हुँदैन भन्ने पक्षमा छैन। म भन्छु यहाँहरु विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस्। हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ। सबै मिलेर देशको विकास गर्नुपर्छ।”

स्वदेश फर्किएका कैयौँ युवाले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएको बताउँदै मन्त्री डा. राणाले युवाको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट गर्नुभयो। 

मन्त्री डा. राणाले प्रविधि, शिक्षा, खेलकुद, उद्यमलगायतका कैयौँ क्षेत्रमा नेपाली युवाले प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका प्रसङ्ग पनि उल्लेख गर्नुभयो। संसारमा नै परिश्रमी र इमानदार नेपालीको पहिचान बनाएको बताउँदै मन्त्री डा राणाले यसलाई पनि हामीले पुँजीका रुपमा लिनुपर्ने धारणा राख्नुभयो। 

उहाँले देशका युवालाई सकारात्मक सोच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययनपछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न सुझाव पनि दिनुभयो। मन्त्री डा. राणाले भन्नुभयो, “अहिले धेरै युवा टिकटकलगायतका सामाजिक सञ्जालको लतमा फसिरहेका छन्। तिनको प्रयोग आफ्नो ज्ञान र सीपको दायरा बढाउने काममा मात्र गर्नुहोस्। जीवनमा नकारात्मकता फैलाउने काममा कहिल्यै नलाग्नुहोस्, यसले तपाईंहरुको जीवनमा कुनै राम्रो ऊर्जा दिँदैन।”