• ३१ वैशाख २०८३, बिहिबार

मरिच खेती प्रवर्धन गर्दै पोखरा महानगर

blog

गण्डकी, साउन २७ गते । देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच खेती प्रवर्धन गर्ने भएको छ । 

महानगरपालिकाले यसै वर्ष ४०० मरिचका बिरुवा वितरण गरेको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । बाँदरको प्रकोप नहुने र असिना आदि समस्या पनि नहुने भएकाले वडा कार्यालयसँग समन्वय गरी मरिचका बिरुवा वितरण गरेको उहाँले बताउनुभयो ।

सो वडामा स्याङ्खुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाले मरिच खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । सोही खेतीलाई दृष्टिगत गरी वडामा मरिच खेती प्रवर्धन र विस्तार गर्न लागिएको हो । बास्तोलाले घर वरपरका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सय बढी हरिया रूखका फेदमा लगाएको मरिचले उत्पादन दिन थालेपछि महानगरपालिका पनि मरिच खेतीको प्रवर्धनमा जुटेको हो ।

बजारमा मरिच कालो सुनका रूपमा समेत परिचित छ । प्रतिकिलो दुई हजार पर्ने यो मसलाजन्य बाली बास्तोलाले २०४६ सालदेखि लगाउन थाल्नुभएको हो । आफूले २०४६ सालमा लेखनाथको भण्डारढिकस्थित पण्डित सोमनाथ आत्रेयसँग १०-१० रुपियाँका दरले दुई वटा मरिचका बिरुवा किनेर ल्याएको अनुभव सुनाउनुभयो । 

बास्तोलाले हाल वार्षिक ६० देखि ७० किलोग्राम मरिच उत्पादनसँगै नर्सरी तयार गरी बिरुवा बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार प्रत्येक वर्ष असारमा फल्न सुरु भई चैतमा मरिचका दाना टिप्न सकिन्छ । उहाँले एउटा बिरुवा १५० रुपैयाँदेखि २०० रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुुभयो । उहाँको फार्मबाट पुरनचौर क्षेत्रमा ४०० मरिचका बिरुवा रोप्न लगेको र माछापुच्छ्रे गाउँपालिकामा ४०० बिरुवा लैजाने तयारी रहेको जानकारी दिनुभयो ।

“मैले दुई वटा बिरुवाबाट मरिच खेती सुरु गरेको थिएँ, यतिखेर राम्रो उत्पादन त छँदै छ । नर्सरीमा एक हजार ५०० बिरुवा बिक्रीका लागि तयार छन्”, उहाँले भन्नुभयो । बाँदरले पनि नखाने र कुनै कीराको प्रकोप मरिच खेतीमा नहुने भएकाले मनग्गे आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

उहाँको मरिच खेती गत वैशाखमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन गर्नुभएको थियो । अवलोकनसँगै महानगर प्रमुख आचार्यले मरिच खेतीको विस्तारमा जोड दिँदै कृषकलाई बिरुवा वितरण सुरु गर्नुभएको हो । मरिच खेतीबाट सामान्य लगानीमा अधिकतकम फाइदा लिन सकिने महानगरपालिकाका कृषि विकास शाखा प्रमुख कडरिया बताउनुहुन्छ ।

सामान्यतः एक हजारदेखि एक हजार २०० मिटरको उचाइमा मरिचखेती हुने बताउँदै उहाँले सामान्यतः ओसिलो ठाउँमा यसको उत्पादन हुने जानकारी दिनुभयो । बहुवर्षे सदाबहार मरिच लहरे बाली हो ।

भियतनाम, भारत, ब्राजिल, मलेसिया, इन्डोनेसिया, चीन र श्रीलङ्कामा यसको व्यावसायिक खेती हुने गरेको छ । नेपालमा मोरङ, सुनसरी, झापा, रामेछाप, लमजुङलगायतका जिल्लाहरुमा मरिच खेती हुने गरेको छ । मरिचको प्रयोग मसला र आयुर्वेदिक औषधी बनाउन प्रयोग गरिन्छ । खाना पचाउने, भोक लाग्ने, खोकीको उपचार, श्वासप्रश्वास र मुटुरोगका लागि पनि मरिच प्रयोग गरिन्छ ।

वडामा कृषितर्फ आकर्षण बढाउन निरन्तर पहल भइरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुुभयो । वडाभित्र व्यावसायिक पशुपालनलाई पनि जोड दिइएको छ । उहाँले वडाबाटै वार्षिक एक करोड ३० लाखको दुध बिक्री हुने गरेको बताउनुभयो ।

मरिचखेती विस्तारसँगै मसलाजन्य बाली उत्पादनमा जोड दिने लक्ष्य राखिएको बताउँदै उहाँले कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै यसबाट स्थानीयवासीको आयआर्जन बढाउने लक्ष्य राखिएको बताउनुभयो । रासस