ज्योति पन्थी
बबई(बर्दिया), साउन २७ गते । मङ्गलवार बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले विविध कार्यक्रमको आयोजना गरी हात्ती दिवस मनाएको छ ।
सन् २०१२ मा थाइल्यान्डमा द ईलिफेन्ट रि इन्ट्रोडक्सन संस्थाले आयोजना गरेको कार्यक्रममा अगस्त १२ तारिखका दिन अन्तर्राष्ट्रिय हात्ती दिवस मनाउने निर्णय भए बमोजिम सन् २०१३ अगस्त १२ तारिखका दिनदेखि नेपालमा पनि हात्ती दिवस मनाउन सुरु गरिएको हो ।
थाइल्यान्डमा हात्तीको राम्रो पर्यटन सम्भावना भएकाले थाइल्यान्डबाट हात्ती दिवस सुरु भएको पाइन्छ ।
जङ्गलमा हात्तीको अस्तित्व सुनिश्चित गर्न, उनीहरूको वासस्थान सुनिश्चित गर्न, हात्तीको दाँत र सिकार अवैध सिकार रोक्न जनतामा चेतना जगाउन र संवेदनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले हात्ती दिवस मनाउने गरिन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पनि एक सय वटासम्म वन हात्ती भेटिने गरेको छ । विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्जको बबई, कर्णाली, गेरुवा र पूर्व पश्चिम राजमार्ग अन्तर्गत अम्रेनिदेखि चिसापानीसम्म वन हात्ती ओहोर दोहर गर्ने स्थानका रूपमा चिनिन्छ । हात्तीहरू ठुलो झुन्डमा हिडन मन पराउँछन् भने नेपाल भारत सीमा क्षेत्रमा पनि हात्तीको आवत जात हुने गरेको छ । बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज खाता कोरिडोरसँग जोडिएको छ । खाता कोरिडोर भएर वन हात्तीहरू नेपाल भारत आवतजावत गर्ने गरेका छन् ।
खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले प्रत्येक वर्ष वन हात्तीहरू यही कोरिडोर भएर नेपाल भारत आवतजावत गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, हात्तीहरू ठुलो जमातमा नेपाल प्रवेश गर्ने गरेको प्रत्यक्ष देखिने गरेको छ । मध्यवर्ति व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले हात्ती दिवसमा हात्तिसारमा रहेका हात्तिहरुलाई फलफुल खुवाएर मनाएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा मङ्गलवार बर्दिया राष्ट्रिय निकुञ्जले पनि विभिन्न कार्यक्रम गरी मनाएको जनाएको छ । निकुञ्जले हात्तीपूजादेखि सचेतनाका कार्यक्रमहरू मनाएको जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले अन्तर्राष्ट्रिय स्तरमा मनाउँदै आएको हात्ती दिवस बर्दिया निकुञ्जले पनि प्रत्येक वर्ष अगस्त १२ तारिखका दिन मनाउँदै आएको बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल मध्य हात्तीले सबै भन्दा मन पराउने स्थानका रूपमा पूर्व पश्चिम राजमार्गको अम्रे नि देखि चिसापानी सम्मको भू भागलाई लिन सकिन्छ ।