• ८ भदौ २०८२, आइतबार

थारू संस्कृति संरक्षण र प्रवर्धनका लागि १२ करोड बजेट

blog

सन्तोष दहित

दाङ, साउन २७ गते । थारू समुदायको कला, संस्कृतिको संरक्षण तथा व्यावसायीकरणका लागि सङ्घीय र लुम्बिनी प्रदेश सरकारबाट १२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।

आर्थिक वर्ष २०८२-८३ मा सङ्घीय सरकारबाट ६ करोड र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमार्फत ६ करोड रुपैयाँ विनियोजन गरिएको लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले जानकारी दिनुभयो ।

उक्त बजेट प्रदेश सरकारको सम्बन्धित मन्त्रालय, विभाग, डिभिजन तथा परिषदमार्फत कार्यान्वयन गरिनेछ। सङ्घीय विशेष अनुदानअन्तर्गत प्राप्त बजेटले थारू समुदायको मौलिक संस्कृति संरक्षण तथा पर्यटनसँग जोडिएको व्यावसायिक विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक कुमार चौधरीले ढिलै भए पनि राज्यले थारू समुदायको मागलाई सम्बोधन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो। “सरकारको यस निर्णयले सम्पूर्ण थारू समुदायलाई गौरवान्वित बनाएको छ,” उहाँले भन्नुभयो।

उक्त कार्यक्रमले थारू समुदायको कला, संस्कृति, परम्परा र पहिचानको दिगो संरक्षणसँगै रोजगारी र पर्यटन प्रवर्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।