• ३१ वैशाख २०८३, बिहिबार

चन्द्र नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

blog

चन्द्र नहर किनारमा अतिक्रमित संरचनाहरुका कारण कमाण्ड एरियाका किसान मर्कामा । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, साउन २७ गते ।
सप्तरीको चन्द्र नहर किनारमा अतिक्रमण हुँदा नहर कमाण्ड एरियाका किसान मर्कामा परेका छन् । मधेश प्रदेशमा खडेरी लागेर सङ्कटग्रस्त भएसँगै सप्तरीका किसानले नहरमा पानीको बहाव रोकेर किनारा आफूखुसी पानी लगेपछि समस्या देखिएको हो ।

कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापनका प्रमुख एकराज भट्टराईले जिल्लाको फतेपुरदेखि गौइठीसम्मको दूरीमा पछिल्लो समयदेखि कैयौँ ठाउँमा चन्द्र नहरको शाखा नहर र भिसी नजिक छेकवार गरेर पानी लगेको भेटिएको बताउनुभयो । यस चन्दू नहरमा स्थानीयहरुले किनारको दुवै तर्फ रहेको बाँध र सडकमा अतिक्रमण गरी आफूखुशी पसल, टहरा, रुख, बाँस, झाडी, अन्य विभिन्न भौतिक संरचनाले गर्दा नहरको स्वरुप बिगारेको स्थानीय महेन्द्र यादव बताउनुहुन्छ । त्यस्तै चन्द्र नहरमा निर्माण गरेको सयौ भिसीको नामौ निसान नरहेको स्थानीय उपेन्द्र मण्डलले बताउनुभयो । चन्द्र नहरको भिसी नहुँदा कृषकलाई खेतमा पानी लगाउन समस्या देखिएको छ ।   

चन्द्र नहरमा पानी रोकेर अवरोधका कारण पानी लैजाने र अतिक्रमणकारीलाई कारबाहीका लागि स्थानीय प्रशासन तथा प्रहरीले तदारुकता नदेखाएको स्थानीय उपभोक्ताको आरोप छन् । चन्द्र नहरको किनाराको संरचना भत्काएर बिगार्नेको पहिचान अहिलेसम्म हुन नसकेका कारण कारबाही नगरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।

कार्यालय प्रमुख भटराईले नहरको पानी रोकेर अवरोधले गर्दा सोनरा, कजौलीसम्म पानी पुग्नका लागि अवरोध हुँदै आइरहेको बताउनुभयो । सप्तरीको सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत, अग्निसायर कृष्णासवरण, महादेवा गाउँपालिकालगायतका पालिकाका ग्रामीण क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ ।

चन्द्र नहर प्रणालीबाट वर्षमा १० हजार ५०० हेक्टर र हिउँदमा ६ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध भइरहेको छ । चन्द्र नहरको लम्बाइ २९ कि.मि. तथा बहाव क्षमता १४.१५ घन मिटर प्रति सेकेन्ड छ । चन्द्र नहरमा ११ वटा शाखा नहर तथा ३८ वटा डाइरेक्ट आउटलेट, ५ वटा इनलेट, ४ वटा इस्केप छन् ।

चन्द्र नहरमा ८ वटा साइफन, १३ वटा लोकल ड्रेन साइफन, ३ वटा एक्वाडक्ट, २६ वटा भिलेज रोड ब्रिज, ६ वटा फुट ब्रिज तथा २ वटा वाटर फल रहेको छ । सप्तरी जिल्लामा साबिकमा रहेका ११४ वटा गाविसमध्ये २९ वटा गाविसमा चन्द्र नहरले सेवा उपलब्ध गराइरहेको छ ।

१० हजार ५ सय हेक्टर कमाण्ड एरिया रहेको यस नहरले ७ हजार हेक्टरमा मात्र सिँचाइ गरिरहेको छ । सप्तरीमा कुल ८३ हजार २३० हेक्टर खेतीयोग्य जमिन छ । सप्तरी जिल्लाका फत्तेपुर, ओद्राहा, कमलपुर, घोघनपुर, धरमपुर, बदगामा, रुपनगर, जगतपुर, कञ्चनपुर, भारदह, पोर्ताहा, मैनाकडेरी, डिमन, त्रिकोल, गोइठी, डाढा, बथनाहा, बनौली, अकबरपुर, भगवतपुर, पकरी, सोनरा, कजौली, महादेवा आदि चन्द्र नहरका कमाण्ड एरियामा पर्दछन् । २९ किलोमिटर लामो चन्द्र नहर जीर्ण अवस्थामा हुँदा पनि ११ हजार क्युसेक पानीको बहाव रेकर्ड गरिएको थियो ।

प्रतिसेकेण्ड चौध घनमिटर पानी प्रवाह गर्ने क्षमताको पाँच सय किलोमिटर लामो सो नहरबाट १० हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ हुने क्षमता  छ । तर त्यो क्षमता अनुसारको पानी यतिबेला प्रवाह हुन सकेको छैन ।